राजीनामा पत्रमा Zee News पत्रकारले सोधेः यो कस्तो पत्रकारिता?


हामी पत्रकार प्रायजसो अरुमाथि प्रश्न उठाउँछौँ तर आफूमाथि कहिल्यै उठाउँदैनौँ। हामी अरुको जिम्मेवारी निर्धारण गर्छौँ तर आफ्नो गर्दैनौँ। हामीलाई लोकतन्त्रको चौँथो खम्बा पनि भनिन्छ तर के हामी, हाम्रा संस्थाहरु, हाम्रो सोच, हाम्रो कार्यप्रणाली लोकतान्त्रिक छ त? यो प्रश्न मेरो मात्र होइन। हामी सबैको हो।

zee-news-journalistजेएनयुएसयु अध्यक्ष कन्हैया कुमारलाई ‘राष्ट्रवाद’ को नाममा जुन तरिकाले फ्रेम गरिएको छ र मिडिया ट्रायल गरेर ‘देशद्रोही’ साबित गरियो, त्यो एकदमै खतरनाक प्रवृत्ति हो। हामी पत्रकारको जिम्मेवारी सत्तालाई प्रश्न गर्ने हो न कि सत्तासँग सन्तुलन मिलाएर काम गर्नु। पत्रकारिताको इतिहासमा हामीले जे पनि उत्तम र सुन्दर हासिल गरेका छौँ, ती यिनै प्रश्नका परिणाम हुन्।

प्रश्न गर्ने या नगर्ने जो कसैको व्यक्तिगत मामला हो तर मेरो विचारमा जे व्यक्तिगत हो, त्यो राजनीतिक पनि हो। एउटा यस्तो समय आउँछ जब तपाईँलाई आफ्नो पेशागत जिम्मेवारी र आफ्नो राजनीतिक सामाजिक पक्षधरता मध्ये कुनै एकको पक्षमा उभिनुपर्छ। मैले पछिल्लोलाई रोजेँ र आफ्नो संस्था Zee News बाट यिनै मतभेदहरुका कारण १९ फेब्रुवरीमा राजीनामा

मेरो राजीनामा यो देशका लाखौँ करोडौँ कन्हैयाहरु तथा जेएनयुका ती साथीहरुलाई समर्पित छ, जो आफ्नो आँखामा सुन्दर सपना लिएर संघर्ष गरिरहेका छन्, बलिदानी दिइरहेका छन्।

जवहरललाल नेहरु विश्वविद्यालयमा हालै भएका  विद्यार्थी अभियानबारेको कभरेजमा असन्तुष्टि जनाउँदै Zee News का पत्रकार विश्वदीपकले फेसबुकमा पोस्ट गरेको राजीनामा पत्रको भूमिका हो यो। नयाँ पत्रिका दैनिकले भारतको जनताका रिपोर्टरबाट साभार गरेको राजीनामा पत्रको नेपाली अनुवादः

प्रिय जी न्युज,

एक वर्ष, चार महिना र चार दिनपछि अब तिमीबाट अलग हुने समय आएको छ। यद्यपि, मैले यो सबै पहिल्यै गर्नुपर्ने थियो। त्यसैले अहिले पनि यो गरिनँ भने आफूले आफैँलाई माफ गर्न सक्नेछैन।

अगाडि म जे भन्न लागिरहेको छु, त्यो कुनै भावावेश, रिस वा सनकको नतिजा होइन। यो त एक सूचिन्तित बयान हो। म पत्रकार हुनुका साथसाथै यही देशको एक नागरिक पनि हुँ, जसको नाममा अन्ध ‘राष्ट्रवाद’को विष फैलाइँदै छ र यो देशलाई गृहयुद्धतिर धकेलिँदै छ। मेरो नागरिक दायित्व र पेसागत जिम्मेवारीले यो विष फैलनबाट रोक भनेर मलाई झकझकाउने गर्छ। मलाई थाहा छ, मेरो यो कोसिस डुंगा चढेर समुद्र पार गर्नुजस्तो हो। तैपनि, सुरुवात भने गर्न चाहन्छु। यही सोचका कारण जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमारको बहानामा सुरु गरिएको अन्ध राष्ट्रवादी अभियान र त्यसलाई बढाउनमा हाम्रो भूमिकाको विरोधमा म आफ्नो पदबाट राजीनामा दिइरहेको छु। यसलाई कुनै वैयक्तिक द्वेषविना नै स्विकारियोस् भन्ने म चाहन्छु।

मे २०१४ पछि जब श्री नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने, त्यतिवेलादेखि धेरथोर देशका हरेक न्युज रुममा साम्प्रदायीकरण भएको छ। तर, हाम्रो स्थिति अझै भयावह छ। यस्तो कठोर शब्द प्रयोग गर्नुपरेकोमा म माफी चाहन्छु। तर, यसबाहेक मसित यसलाई सम्बोधन गर्ने अर्को शब्द पनि छैन। आखिर यस्तो किन हुन्छ ? हरेक समाचारलाई किन ‘मोदी एंगल’सित जोडेर लेखाइन्छ ?

हामी पत्रकार नै हौँ भन्नेमा पनि मलाई शंका लाग्न थालेको छ। हामी पत्रकार नभई सरकारका प्रवक्ता हौँ, या ‘सुपारी किलर’ हौँ। मोदी हाम्रो देशका प्रधानमन्त्री हुन्। मेरा प्रधानमन्त्री पनि उनै हुन्। तर, एक पत्रकार भएका नाताले यति ज्यादा मोदीभक्ति अब पचाउन मुस्किल भयो। मेरो अहंले मेरैविरुद्ध विद्रोह गर्न थालेको छ। म आफू बिरामी भएको छु कि जस्तो लाग्न थालेको छ।

हरेक समाचारको पछाडि कुनै न कुनै एजेन्डा, हरेक समाचार प्रसारणको पछाडि मोदी सरकारलाई महान् बताउने कोसिस, हरेक बहसको पछाडि मोदीका विरोधीहरूलाई ‘गोली’ प्रहार गर्ने प्रयास किन भइरहेको छ ? आक्रमण, युद्धभन्दा तल्लो तहका शब्द त हामीले छनोट गर्नै भुलिसकेका छौँ। यो सब के हो ? कहिलेकाहीँ त आफैँ पागल त भइसकिनँ, शंकै लाग्छ।

आखिर हामीलाई यति धेरै दीनहीन, अनैतिक र पतीत किन बनाइँदै छ ? देशको सर्वोच्च मिडिया संस्थानबाट अध्ययन पूरा गरेर आजतकदेखि लिएर बिबिसीजस्ता प्रतिष्ठित संस्थाहरूमा काम गरिसकेपछि यतिखेर मलाई ‘छि न्युज पत्रकार’ भन्न थालिएको छ। सायद यति प्रतिष्ठित संस्थासित आबद्ध भएर पत्रकारिता गर्नुको पुँजी यही होला। त्यसैले मेरो इमानको धज्जी उडिसकेको छ। यसको जिम्मेवारी कसले लिन्छ ? दलित स्कलर रोहित वेमुलाको आत्महत्याको मुद्दामा पनि यस्तै भयो। पहिले हामीले उनलाई दलित स्कलर लेख्यौँ। पछि दलित छात्र लेख्न थाल्यौँ। यदि हामीले समाचारचाहिँ ठीक लेखेका हुन्थ्यौँ भने यसलाई पनि ठीकै छ भन्न सकिँदो हो। रोहित वेमुलालाई आत्महत्या गर्न बाध्य पार्ने घटनाको पछाडि अखिल भारतीय विद्यार्थी परिषद्का नेता र भाजपाका बंडारु दत्तात्रेयको भूमिका गम्भीरतम प्रश्नहरूको घेरामा छन्। तर, एउटा मिडिया हाउसका तर्फबाट हाम्रो काम भने सो मुद्दालाई कमजोर बनाउने र उनीहरूलाई जोगाउने भूमिका निर्वाह गर्नु थियो।

मलाई सम्झना छ, जब असहिष्णुताको मुद्दामा उदयप्रकाशसहित देशका सबैजसो भाषाका परिचित लेखकहरूले अकादमी पुरस्कार फिर्ता गर्न सुरु गरे, हामीले उनीहरूमाथि नै अनेक प्रश्न बर्साउन सुरु गर्‍यौँ। यदि उदयप्रकाशको मात्र कुरा गर्ने हो भने पनि लाखौँ पाठक उनलाई पढ्छन्। हामी जुन भाषा बोल्छौँ, जुन भाषामा रोजगार गर्छौं, सोही भाषाका सान हुन् उनी। उनका सिर्जनाहरूमा हाम्रो जीवन, हाम्रो सपना र संघर्षका कथाव्यथा झल्किन्छन्। त्यति हुँदाहुँदै पनि हामी उनको कदमलाई प्रायोजित सिद्ध गर्न लागिपर्‍यौँ। त्यो सब गर्नुपर्दा कम्ती पीडा भएको थिएन, तैपनि त्यो सब सहनै पर्‍यो।

कन्हैयासमेत जेएनयुका कैयौँ विद्यार्थीलाई हामीले मानिसहरूको नजरमा ‘देशद्रोही’ बनाइदियौँ। यदि भोलि यिनीहरूमध्ये कसैको हत्या भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? हामीले त कसैको हत्या गराउने र केही परिवारलाई बर्बाद गर्ने अवस्था सिर्जना गरेका मात्र छैनौँ, अपितु दंगा फैलाउने र गृहयुद्धको समेत सम्भावना जन्माइदिएका छौँ। यो कहाँको देशप्रेम हो ? आखिर यो कुनचाहिँ पत्रकारिता हो ?

के हामी भाजपा या आरएसएसको मुखपत्र हौँ ? उनीहरूले जे बोल्छन्, जे भन्छन्, त्यही लेख्नुपर्ने हो हामीले ? जुन भिडियोमा ‘पाकिस्तान जिन्दावाद’ भन्ने नारा छँदै थिएन, त्यसलाई हामीले जनतामा उन्माद फैलाउने उद्देश्यले बारम्बार प्रसारण गर्‍यौँ। अँध्यारोमा आइरहेको अस्पष्ट आवाजलाई हामीले कन्हैया र उनका साथीहरूकै आवाज हो भनेर कसरी स्विकार्‍यौँ ? ‘भारतीय कोर्ट जिन्दावाद’ भन्ने नाराको पूर्वाग्रहका आधारमा हामीले ‘पाकिस्तान जिन्दावाद’ सुन्यौँ। र, सरकारको पक्षमा काम गर्दै केही मानिसका करिअर, उनीहरूको विश्वास तथा परिवारको बर्बादीको संघारमा पुर्‍याउने काम जानाजान गरियो। हामीले एजेन्सीहरूलाई जाँच गर्न दिने र त्यसको नतिजासम्म कुर्ने धैर्य पनि देखाउन चाहेनौँ।

मानिसहरू उमर खालिदकी बहिनीलाई बलात्कार गर्ने र उनीमाथि एसिड आक्रमण गर्ने धम्की दिइरहेका छन्। उनलाई गद्दारकी बहिनी भनिरहेका छन्। एकछिन सोच्नुहोस् त, यदि यस्तै भयो भने के त्यसको जिम्मेवार हामी नै होइनौँ ? कन्हैयाले एकपटक होइन, हजारौँ पटक भनेका छन्, उनी देशविरोधी नाराको समर्थन गर्दैनन्। तर, उनको आवाज कसैले सुनेको छैन। किनकि, हामीले नै यो भ्रम फैलाएका थियौँ कि कन्हैया राष्ट्रघाती थिए। के हामीले ध्यानपूर्वक उनको घर हेरेका छौँ ? त्यसमा उनको घर होइन, त्यो यस देशको गरिब किसान र आमजनताको विवशताको दर्दनाक प्रतीक जस्तो लाग्छ।

हामी उनको राजनीतिसित असहमत हुन सक्छौँ। उनको विचार उग्र पनि हुन सक्छ। तर, त्यत्तिकै भरमा उनी देशद्रोही कसरी हुन सक्छन् ? अदालतको काम हामी कसरी गर्न सक्छौँ ? दिल्ली प्रहरीले आफ्नो एफआइआरमा जी न्युजको सन्दर्भ दिने के संयोग मात्र हो ? दिल्ली प्रहरीसित हाम्रो साँठगाँठ छ भन्ने गरिन्छ। अब भन्नुहोस्, हामीले मानिसलाई के जवाफ दिने ?

यहाँनेर यो भन्नु पनि मलाई आवश्यक लागिरहेको छ कि यदि एउटा मिडिया हाउसलाई आफ्ना दक्षिणपन्थी सोच र रुचि प्रकट गर्ने तथा त्यसको बयान गर्ने अधिकार छ भने एक आमव्यक्ति हुनुको नाताले आफ्नो राजनीतिक विचार व्यक्त गर्ने हाम्रो पनि अधिकार पक्कै हुन्छ। पत्रकार हुनुको नाताले तटस्थता देखाउनु मेरो पेसागत धर्म र जिम्मेवारी हो। आखिर जेएनयु र त्यहाँका विद्यार्थीसँग हम्रो दुश्मनी के छ ? मेरो मान्यता छ– आधुनिक जीवनका मूल्य, लोकतन्त्र, विविधता र विरोधी विचारका बीचमा सहअस्तित्वको सबैभन्दा सुन्दर बगैँचा छ भने त्यो जेएनयु हो। त्यसैलाई हामीले देशद्रोहको अड्डा बनायौँ भने बाँकी हामीसँग के रहन्छ ?

सादर सप्रेम

विश्वदीपक

 

 

Scroll.in मा विश्वदीपकको राजीनामा पत्रबारेको स्टोरी पढ्नुस्। हिन्दुस्तान टाइम्स, इन्डिया टुडे, न्युजलन्ड्री लगायतमा पनि यसबारे सामग्री छापिएको छ। Zee News बारे हुटमा छापिएको यो सामग्री पनि पठनीय छ। यस्तै विश्वदीपकको राजीनामा बारे फर्स्टपोस्ट, इन्डियन एक्सप्रेस, The Wire ले पनि लेखेका छन्। विश्वदीपकको पक्षधरताबारे OpIndia ले लेखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.