नेपाली पत्रकारिताका समस्या र सम्भावना, सुमन खरेलसँग सबालजबाफ


२०४१ सालबाट निरन्तर रेडियो पत्रकारितामा रमाइरहेका पत्रकार सुमन खरेलले आफ्नो करिअरको २३ वर्ष बेलायतको प्रसिद्ध प्रसारण संस्था बिबिसीमा बिताए। त्यसअघि उनले सात वर्ष उनी रेडियो नेपालमा काम गरे। गत महिनामात्र बिबिसीबाट बिदा लिएर उनी नेपाल फर्किएका छन्। बिबिसी नेपाली सेवामा उनको अन्तिम कार्यक्रममा उनले भनेका थिए- मैले बिबिसीबाट नाम कमाएँ। नेपाल फर्केर उनी बिफबिएस गोर्खा रेडियोमा आबद्ध भएका छन्, सम्पादकका रुपमा।

suman kharelनेपाल फर्किने बित्तिकै उनीसँग भेटेर उनको पत्रकारिता जीवनबारे कुरा गर्ने रहर थियो। केही ढिला भए पनि गत हप्ता मैले उनलाई भेटेँ र करिब एक घण्टा कुरा गरेँ। डाक्टरी पढाइ छोडेर उनी कसरी पत्रकारितामा आए र उनले यो पेशाबाट के पाए भन्नेबारेमा केन्द्रित स्टोरी पढ्न भ्याउनुभएको छैन भने उक्त लेखका केही महत्वपूर्ण अंश म यहाँ प्रस्तुत गर्दैछु, सबालजबाफमा।

के तपाईँलाई बेलायतमा अफरहरु थिएनन् र? नेपाल किन फर्किनुभयो?

लन्डनमा अफर नभएका होइनन् तर मलाई नेपालमा नै केही गर्ने तथा आफूसँग भएको ज्ञान, सीप र अनुभव बाँड्ने रहर छ। केही गर्नु छ भने नेपालमै गर्नुपर्छ भन्ने लाग्यो। त्यहाँ बसेर आफूले सिकेका कुरा बाँड्ने अवसर पाउँदिन। कम्तीमा देशमा बसेँ भने मैले जानेको, सिकेको र बुझेको कुरा भावी पुस्तालाई बाँड्न त सक्छु। उनीहरुले मबाट केही सिक्न सक्छन्। विभिन्न ठाउँहरुबाट त्यस्ता प्रस्तावहरु पनि आइरहेका छन्। बहस, अन्तर्क्रिया र तालिममार्फत ज्ञानको आदानप्रदान गर्ने कुरा त छँदैछ, एउटा टेलिभिजन कार्यक्रम गर्ने कुरा पनि चलिरहेको छ।

उता आराम थियो होला नि, यता त अभावैअभाव छ।

हो, उता आराम छ, परिवार छ, सुविस्ता छ, ग्यास छ, पेट्रोल छ। सायद त्यो मैले भोगिसकेँ। यहाँ अभाव छ, संघर्ष छ, अब हेरुँ न त अभाव कस्तो हुँदो रहेछ। तीन करोड मानिस बाँचेकै छन्। म एउटामात्र किन नसकुँला र?

तपाईँले रेडियोमा करिअर सुरु गर्दा पञ्चायती व्यवस्था थियो। बिबिसीमा आबद्ध हुँदा नेपालमा भर्खर पञ्चायत ढलेर बहुदलीय व्यवस्था सुरु भएको थियो। यसबीचमा यहाँ धेरै राजनीतिक परिवर्तन भए। राजतन्त्र ढलेर गणतन्त्र आएको छ। नेपालको राजनीतिक परिवर्तनबारे तपाईँ के भन्नुहुन्छ?

नेपाल अहिले इतिहासकै एक कठिन मोडमा उभिएको छ। परिवर्तनको सही ब्यवस्थापन हुन सकेन भने सर्वसाधारणको जीवनस्तर उठ्न सक्ने छैन। मानिसले अधिकार पाए, बोल्न पनि पाए तर जीवन यापन गर्नै नसक्ने अवस्था आयो भने परिवर्तनको कुनै अर्थ रहन्न। म पहिले नेपाली हुँ भनी गर्व र स्वाभिमानपूर्वक हिंड्न सक्ने अवस्थामा ह्रास आउन दिनुहुन्न।

नेपालमा अझै पनि रेडियोमा सम्भावना देख्नुहुन्छ?

ठूलो सम्भावना छ र यहाँ ट्यालेन्ट पनि छ तर सही मार्गदर्शन छैन। नेपालमा मान्छे पढ्छन् र एकैचोटी काममा आउँछ। उसले ८/१० वर्ष काम गरिसक्छ जबकी उसलाई रेडियो डकुमेन्ट्री, म्यागेजिन, फिचर, अन्तर्वार्ता लगायतका तरिका, विशेषता र महत्व नै राम्रोसँग थाहा हुन्न। उसले प्रोगाम चलाएकै हुन्छ, स्टेसन पनि चलेकै हुन्छ तर अब त्यसमा कसरी सुधार गर्ने भन्ने चासो कसैलाई हुँदैन। अनि सबै जना सन्तुष्ट जस्तो देखिन्छ यहाँ। विज्ञापन अलिअलि आएकै छ भन्यो बस्यो। तर उसको बौद्धिक विकास के भयो त? १० वर्ष वा ५ वर्षमा उसले के सिक्यो त? त्यो ग्याप नेपालमा पाएको छु।

हामीकहाँ पत्रकारिता र मिडियामा अरु के समस्या छन्?

नेपाली मिडियामा पत्रकारको क्षमता अभिवृद्धि गर्ने कुनै कार्यक्रम छैन। बिबिसीमा हरेक वर्षमा कम्तीमा एउटा तालिम अनिवार्य छ। कहिले उनीहरुले सिफारिस गर्छन्, कहिले पत्रकारले रोज्न पाउँछन्। त्यसले पत्रकारलाई आत्मविश्वास बढाउँछ, जुन यहाँ अभाव छ।

बिबिसीमा गएर तपाईँले सिकेको सबैभन्दा ठूलो कुरा के हो?

पहिलो, स्वतन्त्रता। पत्रकारिता १० बजे आउने र ५ बजे जाने काम होइन। यो हाजिर गर्ने जागिर पनि होइन। यो जिम्मेवारी तेरो हो भनेपछि सकियो। आफ्नो समयमा गयो, कहिले ३ बजे काम सक्यो हिँड्यो, कहिले राति १० बजेसम्म पनि काम गरिराख्यो। पत्रकारितामा मान्छेलाई बाँधिने गरी काम गर्न लगाउन हुन्न। उसले स्वतन्त्र भएर काम गर्न सकोस्, घुलमिल हुन सकोस् भन्नेमा ध्यान दिनुपर्छ। बिबिसीबाट सिकेको अर्को कुरा हो इज्जत। बिबिसीमा नेपालमा जस्तो तहको खाडल हुँदैन। सिनियर र जुनियर, सम्पादक र रिपोर्टर वा यस्तै खालको द्वन्द्व हुँदैन। बिबिसीको भवनमा ६ हजार मानिस काम गर्थे। एकले अर्कालाई इज्जत गर्छन्। डाइरेक्टर जेनरलदेखि सामान्य क्लिनरसम्म एउटै लिफ्टमा हिँडिरहेका हुन्छन्। क्लिनरले डाइरेक्टर जेनरललाई ‘हाइ जोन’ भन्छ, उसले ‘हाइ स्टिभ’ भन्छ। सबै समान छन्, सबैले आआफ्नो काम गरेका छन्। हो, रिपोर्टिङ च्यानल हुन्छ तर नेपालमा जस्तो सम्पादक, डेस्क एडिटर, सबएडिटर वा रिपोर्टरबीचको खाडल हुँदैन। बिस्तारै त्यो कुरा हामीले सिक्न सक्नुपर्छ।

नेपालमा पत्रकार निष्पक्ष छैनन्/भएनन् भनिन्छ। तपाईँको यसमा प्रतिक्रिया के छ?

पत्रकारलाई सामान्य जीवनयापन गरेर खुसीसाथ बाँच्न सक्ने तलब देउ न। त्यसपछि ऊ दायाँ बायाँ लागेको थाहा पायौ भने कारबाही गर. नत्र महिनौँ तलब नदिने, दिए पनि हातमुख जोड्न गाह्रो हुने तलब दिने अनि दोष पत्रकारलाई मात्र दिइरहने?  नेपालमा पत्रकारिता फस्टाउन नसक्नुको कारण पत्रकारलाई बाँच्ने गरी पारिश्रमिक तथा सेवासुविधा नदिनु पनि हो। भोलि बच्चा बिरामी भयो भने अस्पताल कसरी लैजाने, जँचाउन कसरी पैसा जम्मा पार्ने भन्ने चिन्ता भयो पत्रकारले के गरोस् त? मालिकहरु आफूमात्र मोटाउने होइन। उनीहरु सधैँ भन्छन् कि म संघर्ष गरिरहेको छु, संघर्ष के कति गरिरहेका छन्, त्यो धेरैलाई थाहा छ। सक्दैनौ बन्द गर, नत्र पत्रकारलाई आधारभूत जीवनस्तरका लागि चाहिने तलब उपलब्ध गराउ। अनि मात्र पत्रकारलाई आरोप लगाउ। बिबिसी निष्पक्ष हुनुको कारण पत्रकारलाई जीवनयापन गर्न पुग्ने तलब पनि हो।

पत्रकारितामा आउन चाहने वा पत्रकारिता गरिरहेकाहरुलाई तपाईँको सुझाव के छ?

ठूलो आकांक्षा लिएर पत्रकारितामा आउनु हुँदैन। दाम भन्दा बढी नाममा विश्वास हुनुपर्छ। हामीमा अध्ययनको कमी पनि देख्छु। टिभीमा काम गर्नुहुन्छ भने सिएनएनले के भन्छ, बिबिसीले के भन्छ, अलजजिराले के भन्छ बुझ्नुपर्‍यो। अंग्रेजी सुधार्नुपर्‍यो। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने हो भने अब अंग्रेजीबिना सकिँदैन। पत्रकारितामा लाग्ने मान्छेले सबै कुरा संस्थाले दिन्छ भन्ने सोच्नु हुँदैन आफूले पनि मिहिनेत गर्नुपर्छ। आफ्ना कमजोरी हटाउन प्रयास गर्नुपर्छ।

पत्रकारिता पेशामा लागेकोमा कहिल्यै पश्चाताप गर्नुपर्ने दिन आए?

कहिल्यै पनि उनले पश्ताचाप गर्नुपरेन किनभने मेरो चाहना नै यही थियो। मैले जेजति पाएँ सजिलै पाएँ। कुनै निवेदन लेख्नुपरेन। मलाई यस्तो काम दिए जहाँ म रमाउँथे। बोलेर, आफ्नो आवाज दिएर मैले जीवन धान्ने पारिश्रमिक पाएँ। मैले अपशोच मान्नुपर्ने ठाउँ नै भएन जीवनमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.