पत्रकारको क्या प्रश्न ! मन्त्रीको क्या जबाफ ! लौ सुन्नुस् !


Journalist-Asking-Questionsपत्रकारको काम नै प्रश्न गर्ने हो। हरेक पत्रकारका प्रश्न सोध्ने आआफ्नै तरिका हुन्छन् भने जबाफ दिनेका पनि आआफ्नै खुबी। पत्रकार नारायण वाग्लेको कुरा मान्ने हो भने एउटा पत्रकार तबसम्म पत्रकार भइरहनसक्छ जबसम्म उसँग प्रश्न गर्ने अधिकार रहन्छ। उनी भन्छन्, ‘प्रश्न गर्ने अधिकार रहेसम्म म पत्रकार हुन्छु। प्रश्नप्रतिको प्रेमले नै पत्रकार जीवित हुन्छ। मसँग प्रश्न गर्ने अधिकार भएसम्म सेल्फ सेन्सरसिप मेरा लागि गौण हुन्छ।’

यहाँ भन्न खोजिएको कुरा के हो भने पत्रकारका लागि प्रश्न निकै महत्वपूर्ण हतियार हो, जसबाट उसले उत्तर खोदल्न सक्छ।

तर के प्रश्न गर्ने पनि नियम हुन्छन्? प्रश्नका मर्यादा र सीमा हुन्छन्? अनि उत्तरका पनि सीमा र मर्यादा हुन्छन्? जबाफ फरक फरक हुन सक्छन्।

हामी तपाईँलाई एक पत्रकार र मन्त्रीबीचको सम्बाद सुनाउँदै छौँ जहाँ तपाईँले प्रश्न र जबाफमा सीमा तथा मर्यादा खोज्नुपर्ने हुन्छ।

केही समयअघि बुटवलमा भएको एउटा पत्रकार सम्मेलनमा उद्योग मन्त्री सोमप्रसाद पाण्डे पत्रकारको प्रश्नको सामना गर्दै थिए। पाण्डे पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् हुन्।

हामीलाई प्राप्त अडियोमा एक पत्रकार र मन्त्री पाण्डेबीचको सबाल जबाफ छ। प्रश्न सोध्ने पत्रकार हुन् अन्नपूर्ण पोस्टका संवाददाता महेन्द्र थापा। अब उनीहरुबीचको सबालजबाफ सुन्नुस्।

पत्रकारको प्रश्नः

तपाईँ माधव नेपालको सम्धी। पहिलाको जंगल फाँड्ने व्यापारी। पाल्पाको हाम्रो निर्वाचित सांसद, औद्योगिक क्षेत्र भ्रमण गर्नुभयो यता आएर। मन्त्री बन्नुभयो, फूर्तिफार्ति देखाउनुभयो, बडो खुसीको कुरा। तपाईँ काठ व्यापार गर्दा बुटवल प्लाई उद्योग भन्ने थियो तपाईलाई राम्रोसँग जानकारी छ। बुटवल धागो कारखाना बुटवल प्लाइको बाटोमा छ। तपाईँ यसलाई जोगाउन के ठोस गर्नुहुन्छ?

मन्त्रीको जबाफः

तपाईँको प्रश्नसँग मेरो एउटा असहमति छ। तपाईँ एउटा गरिमामय पत्रकारले कहाँ फाँडेको देख्नुभयो र? एउटा प्रश्न गर्ने पनि तरिका हुन्छ। मान्छेलाई मिनिमाइज गर्ने पनि तरिका हुन्छ। अनि माधव नेपालको सम्धी म के ५१ सालमा भएको थिएँ? म ५१ सालमा चुनाव जित्या मान्छे हो। तपाईँको त्यो मनसपटलमा नेगेटिभ कुरामात्र रहेछ जस्तो लाग्यो मलाई। तपाईँप्रति मलाई आपत्ति छ। म माधव नेपालको सम्धी भएर मन्त्री भएको होइन। मैले पाल्पा जिल्लाबाट ३ पटक चुनाव जित्या छु। मेरो पार्टीमा र नेपाली कांग्रेसमा देखाउनुस्, ३/३ पटक चुनाव जितेका मान्छे कतिपटक मन्त्री भएका छन्। म जनताबाट अनुमोदित मान्छे हो, कुनै सम्धी र नातेदारबाट म मन्त्री भएको होइन। एउटा यो अनुरोध म तपाईँहरुसँग गर्न चाहन्छु।

अर्को कुरा, व्यवसाय संसारमा सबैले गर्छन्। म एउटा कुरामा दृढ के छु भन्दाखेरी म यो फिल्डमा मुलुकलाई लुटेर फाइदा लिन आएको होइन। मुलुकका लागि केही योगदान गर्न सकिन्छ कि भनेर यो फिल्डमा आएको मान्छे हो। म कानुन व्यवसायी पनि हो, काठ व्यापारी मात्र होइन। पाल्पा बारको दुई दुई कार्यकालको अध्यक्ष पनि हो। कानुन व्यवसायमा यस्ता धेरै मुद्धाहरुको किनारा लगाएका उदाहरण पनि छन्। म २५ वर्षदेखि कुनै पनि क्षेत्रमा छैन, मात्रै राजनीति क्षेत्रमा छु, जनताको सेवामा समर्पित छु, त्यसकारण यस्ता प्रश्न गर्दाखेरी अलि होच्चाउने किसिमले नगरियोस् भन्ने मेरो अनुरोध हो पत्रकार साथीहरुलाई।

म पनि पत्रकारितामा लागेको मान्छे हो र मैले पनि श्रीनगर पत्रिका पाल्पामा धेरै लामो समयसम्म चलाएको हुँ। पत्रकारिताको मर्म र कर्म मलाई पनि थाहा छ। र, पत्रकारिताको को कसरी चल्छ भन्ने कुरा पनि थाहा छ र पत्रकारिता गरेको मान्छेको हैसियत कसरी बढ्छ र कसरी घट्छ भन्ने पनि थाहा छ मलाई। त्यसकारण म यसमा धेरै जान्न। यस्ता खालका प्रश्न गर्दाखेरी यो होच्याउने तरिकाले नगरौँ भन्ने मेरो अनुरोध है। कुनै पनि मन्त्रीलाई चाहे नेपाली कांग्रेसको आओस् चाहे राप्रपाको आओस् चाहे माओवादीको आओस् वा एमालेको आओस्, हामी प्रश्न गर्ने बेलामा यस्ता होच्चाउने ढंगले, मान्छेलाई निराश गर्ने ढंगले अनि उसको तेजोबध गर्ने ढंगले कुरा गर्न हुँदैन हेर्नुस्। मेरो अनुरोध है, म पनि पत्रकारितामा लागेको मान्छे हो र पत्रकारिताको मर्म र कर्म मलाई पनि थाहा छ।

अब अडियो सुन्नुहोस्-

अब प्रश्नको उत्तर दिनुस्- के प्रश्न सोध्ने र उत्तर दिने मान्छेका सीमा र मर्यादा हुन्छन्? माथिको सबालजबाफबारे तपाईँको धारणा के छ? कमेन्टमा लेख्नुस्।

 

1 Comments

  • LB Thapa (#)
    December 5th, 2015

    सर्वप्रथम यो जवाफसवालमा भाग लिने अवसर मिलेकोमा धन्यवाद मिडिया कुराकानीलाई। म धेरै लेख्न चाहन्न। धेरै लेखेर केही हुँदैन पनि।

    खासगरी हामी पत्रकार आफ्नो मर्यादा भुल्ने परम्परा हो। ब्यवस्थापिका, न्यायपालीका र कार्यपालिका पछिको चौथो अंगको मान्यता मात्रै दिएको छ राज्यले संचार जगतलाई। तर चौथो अंगको रुपमा नै लागू भयो भने त यहाँ आफू विरोधीहरु अन्य धेरैजनाको पेशा ब्यवसाय गुल्टिन्छन्। किनकी उसले आफूसँगको हैसियत यही सोधिएको प्रश्नजस्तै वाण बनिरहन्छन् पत्रकारले। मेरो बिचारमा प्रश्न सोध्ने ब्यक्ति फरक पार्टीमा आस्था राख्ने ब्वक्ति हुनुपर्छ। हाम्रो चलन नै यो हो कि आफ्नो पार्टीको नेताको समर्थन मात्रै अरुको विरोध मात्रै प्रचलन नै बनिसक्यो। एउटा खुला कार्यक्रममा पत्रकारले सोधेको प्रश्न अनुसार आएका जवाफहरु ठिकै हुन्। जस्तो बिऊ उस्तै फल निस्कन्छ नै।

    पत्रकारितामा होइन पत्रकारमा विवेक छैन ज्यादा घमण्डपन छ चौंथो अंगको मान्यताले। केन्द्रीयस्तरको मिडियाको नाम लिएर काम गर्ने जिल्ला स्तरका संचारकर्मीमा संकुचित धारणा हुन्छ। यहीँ भेटिन्छ लगानी अनुसारको प्रतिफल अर्थात विवेक प्रयोग गर्ने क्षमता। भलै साथीको अरु पनि क्षमता होला। तर अहिले आफू रहिरहेको भूमिका भोलि छोड्नुपर्छ र मलाई पनि अरुले प्रश्न सोध्ने ठाउँ बनाउनुपर्छ भन्ने हेक्का हामी सबैले बुझ्नु जरुरी छ। धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *