विवादमा अन्नपूर्ण पोस्टको समाचारः पद्‍मरत्नप्रति अन्नपूर्ण किन पूर्वाग्रही?


अन्नपूर्ण पोस्ट दैनिकमा भारतीय दूतावासको ‘अफ द रेकर्ड’ अन्तर्क्रियाबारे शुक्रबार छापिएको समाचार  विवादमा तानिएको छ। मानवअधिकारकर्मी पद्‍मरत्न तुलाधरले आफूले ‘कुनै पनि टिप्पणी वा विचार नै व्यक्त नगरेको’ तथा पत्रकार तुलानारायण साहले पनि समाचारमा उल्लेख भएका कुनै पनि कुरा आफूले नबोलेको भन्दै खण्डन गरेपछि समाचारको विश्वसनीयतामा प्रश्न उठेको हो।

के छ समाचारमा?

अन्नपूर्ण पोस्टको शुक्रबारको अंकमा काठमाडौंको सांग्रिला होटलमा गएको बुधबार भारतीय दूतावासले आयोजना गरेको अफ द रेकर्ड अन्तर्क्रियाबारेको समाचार छापिएको छ। ‘नेपालले के चाहेको होः रे’ शीर्षकमा प्रकाशित मुख्य समाचाको उपशीर्षक छ- मान्छे मार्ने काममा भारत सहयोगीः चिकित्सकहरु। समाचारमा भारतीय राजदूत रणजीत राय र डा. भगवान कोइरालाको फोटो पनि प्रकाशित छ। यस्तै समाचारमा ‘पूर्ण रुपमा नाकाबन्दी लगाउनुस्, केही छिर्न नदिनुस्’ भन्ने भनाई राखेर मानवअधिकारकर्मी पद्‍मरत्न तुलाधरको फोटो पनि छापिएको छ। भारतीय दूतावासको ‘अफ द रेकर्ड’ अन्तर्क्रियाबारे छापिएको समाचार यस्तो छ-

AnnapurnaPost_FronPage

समाचारमा स्रोतलाई उद्‍धृत गर्दै उल्लेख छ-

अन्तरक्रियामा सहभागी मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले भारतबाट पूर्ण रूपमा नाकाबन्दी लगाउनुपर्ने र केही पनि नेपाल छिर्न दिन नहुने भन्दै राजदूतलाई आग्रह गरेपछि त्यहाँ उपस्थित डा. भगवान कोइराला आक्रोशित भएका थिए। त्यति नै बेला मधेसी जनताका तर्फबाट सहभागी पूर्वराजदूत विजय कर्णले मधेसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अपमानजनक व्यवहार गरिएको आरोप लगाएका थिए। मधेसी आन्दोलनका अर्का समर्थक तथा पत्रकार तुलानारायण साहले चीनबाट वैकल्पिक आपूर्ति जारी रहे केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएका थिए। पढ्नुस् यो समाचार अन्नपूर्णपोस्ट डट कममा।

समाचारको खण्डन

मानअधिकारकर्मी पद्‍मरत्न तुलाधरले शुक्रबार नै विज्ञप्ति निकालेर यो समाचारको खण्डन गरेका छन्। उनले भ्रामक समाचारले आफ्नो व्यक्तित्वमाथि निर्मम प्रहार गरेको हुनाले राष्ट्रको संवेदनशील परिस्थितिमा सञ्चारमाध्यमले समाचार प्रवाह गर्दा संयमता र सत्यतालाई आधार मान्न आग्रह गरेका छन्। पढ्नुस् उनले फेसबुकमा जारी गरेको ध्यानाकर्षण-

२०७२ मंसिर ४ अर्थात आजको अन्नपूर्ण पोस्टको प्रथम पृष्ठमा मद्वारा “पूर्णरुपमा नाकाबन्दी लगाउनुस्, केही छिर्न नदिनुहोस्” भनेर राजधानीमा आयोजित एक कार्यक्रममा भनिएको उल्लेखित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सांग्रिला होटेलमा आयोजित सो कार्यक्रम भारतीय दूतावासले पूर्ण रुपमा “च्याथम हाउस” नियममा भएको जनाएको थियो। सो कार्यक्रममा म लगायत थुप्रै नागरिक समाजका प्रतिनिधि सहभागी भएकोमा मैले कुनै टिप्पणी वा विचार नै व्यक्त नगरेको जानकारी गराउन चाहन्छु। यस्तो भ्रामक समाचारले मेरो व्यक्तित्वमाथि निर्मम प्रहार गरेको हुनाले राष्ट्रको संवेदनशील परिस्थितिमा संचारमाध्यमले समाचार प्रवाह गर्दा संयमता र सत्यतालाई आधार मान्न आग्रह समेत गर्दछु।

त्यस्तै पत्रकार तुलानारायण साहले पनि शुक्रबार नै फेसबुकमार्फत उक्त समाचारको खण्डन गरेका छन्। उनले लेखेका छन्-

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारबारे :-
२०७२ मंसिर ४ गते शुक्रबारका दिन अन्नपूर्ण पोस्टमा प्रकाशित ‘नेपालले के चाहेको हो- रे’ शीर्षकको मुख्य समाचारमा स्रोतको हबाला दिएर मेरा केही भनाईहरु छापिएकोप्रति मेरो ध्यान आकृष्ट भएको छ। समाचारमा ‘तुलानारायण साहले चीनबाट वैकल्पिक आपूर्ति जारी रहे केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएका थिए’ उल्लेख छ। भारतीय दूतावासद्वारा आयोजित उक्त लन्च मिटिङमा मैले ती कुराहरु बोलेकै होइन। लगभग आधा दर्जन पूर्व राजदुत र त्यति नै संख्यामा प्रा. डा. हरुको उपस्थितिमा भएको उक्त संक्षिप्त अन्तर्क्रियामा आफनो पालोमा मैले भनेको थिएँ– यत्रा वरिष्ठ कुटनीतिज्ञ र राजनीतिशास्त्रीहरुको बिच मैले नेपाल भारत सम्बन्ध र नाकाबन्दीबारे बोल्ने धृष्ठता गर्न सक्दिन। तर मधेस आन्दोलनबारे बुँदागतरुपमा केही कुराहरु राखेको थिएँ। मैले बोल्दै नबोलेको कुरालाई स्रोतको हबाला दिएर विवादास्पद र उत्तेजक शैलीमा छापिएकोप्रति मेरो आपत्ति छ। म यस्को खण्डन गर्दछु।

पद्मरत्नप्रति पूर्वाग्रह?

के अन्नपूर्ण पोस्टले पद्‍मरत्नले बोल्दै नबोलेको कुरा छापेको हो? कि अन्नपूर्णलाई सूचना दिनेले नै नियतबस गलत सूचना दिएको हो? हामी अनुमानमात्र गर्न सक्छौँ। तर पद्‍मरत्नप्रति अन्नपूर्ण पूर्वाग्रही छ भन्ने यसको अनलाइनमा छापिएको समाचारबाट प्रष्ट हुन्छ।

भारतीय दूतसँग पद्‍मरत्‍नको याचना, ‘एउटा पनि समान छिर्न दिनु भएन’ शीर्षकमा पोस्ट भएको समाचारको भाषा हेर्दा यो समाचार छाप्नुका पछाडि अन्नपूर्ण पोस्टको नियत सफा छैन भन्ने प्रष्ट हुन्छ। प्रिन्टमा भन्दा फरक भाषा र टोनमा प्रस्तुत भएको यो समाचारको लिडमा लेखिएको छ- ‘आफूलाई नागरिक समाजको अगुवा ठान्ने पूर्ववामपन्थी नेता पद्मरत्न तुलाधरले आफ्नो मुलुकविरुद्ध पूर्ण नाकाबन्दी लगाउन भारतसमक्ष माग राखेका छन्।’

समाचारमा उल्लेख भए झैँ तुलाधरले त्यसो भनेका थिए वा थिएनन् उक्त अन्तर्क्रियामा सहभागीलाई नै थाहा होला तर प्रिन्टमा भएको कभरेज, प्रिन्ट भन्दा अनलाइनमा अझ फरक ढंगको कभरेज र टोन अनि समाचारका विषयमा सम्बन्धित पक्षले गरेको खण्डनले शंका गर्ने ठाउँ दिएको छ।

उक्त अन्तर्क्रियामा सहभागी पूर्व राजदूत विजयकान्त कर्णका अनुसार समाचार पूर्ण रुपमा गलत छ। ‘एक वाक्यमा भन्ने हो भने यो फेब्रिकेटेड (बनाइएको), कन्टेमिनेटेड (दूषित) र बेसलेस (आधारहीन) छ’, कर्णले मिडिया कुराकानीसँग भने, ‘पद्‍मरत्न दाइ एक शब्द पनि बोल्नुभएको थिएन त्यहाँ।’

त्यस्तै पत्रकार तुलानारायण शाले पनि पद्‍मरत्न तुलाधर एक शब्द नबोलेको ट्विटरमा लेखेका छन्।

‘च्याथम हाउस रुल’

अन्नपूर्ण पोस्टले ‘अफ द रेकर्ड’ भने पनि खासमा यसलाई ‘च्याथम हाउस रुल’ भनिन्छ। यो नियमअनुसार हुने छलफलका सहभागीले आफ्नो विचार व्यक्त गर्न वा छलफलका क्रममा उठेका विषय सार्वजनिक गर्न पाउँछन् तर सहभागी वा वक्ताको परिचय वा आबद्धता सार्वजनिक गर्न पाइँदैन। यो नियमबारे विस्तृत पढ्नुहोस्

अन्नपूर्णले देला जबाफ?

अन्नपूर्णको समाचार ध्यान दिएर पढ्ने हो भने समाचारको सिलसिला मिलेको जस्तो लाग्दैन। माथिल्ला दुई वाक्य औषधि र उपकरणमा केन्द्रित छन् तर अचानक तेस्रो वाक्यमा स्रोतलाई हवला दिँदै विना प्रसंग पद्‍मरत्नको कुरा आउँछ, त्यसपछि आउँछ विजयकान्त कर्ण र तुलानारायण साहको प्रसंग। त्यसको लगत्तै अचानक भारतीय राजदूत आक्रोशित भएको प्रसंग आउँछ। पत्रकारको धर्म समाचार लेख्नु हो। समाचारका बारेमा खण्डन आउनु पनि स्वभाविक हो। ‘च्याथम हाउस रुल’ अन्तर्गत भएको विशेष अन्तर्क्रियाको सूचना ल्याउने भनेको कुनै न कुनै स्रोतबाटै हो तर समाचार लेख्दै गर्दा पद्‍मरत्नलाई आफ्नो प्रष्टिकरण राख्ने अवसर दिएको भए सायद समाचार सन्तुलित र विश्वसनीय हुन्थ्यो कि? पत्रकार अजयभद्र खनाल-

यही विषयसँग सम्बन्धित सामग्री माइसन्सारमा पढ्नुहोस्ः हेल्थ बिटका रिपोर्टरले लेखेको पोलिटिकल न्युजबाट उठेको तरङ्ग, आखिर भएको के थियो?

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.