मेडिकल शिक्षामा माफियाः यसरी गरियो खोज


ध्रुव पौडेलले बोलेका कुरा जस्ताको तस्तै दिएर मात्रै हाम्रो जिम्मेवारी पुरा हुँदैनथ्यो। हामीले उनले भनेका विषयलाई दोहोरो परीक्षण गर्‍यौँ। उनीसँगको कुराकानी र हामीले जुटाएका कागजात भिडाएर हेर्दा नेपालको मेडिकल शिक्षाको एउटा कुरुप तस्बिर देखियो।

  • रामु सापकोटा-

मेडिकल शिक्षामा माफियाकरणको विरोधमा डा. गोविन्द केसी छैठौँ पटक अनसनमा छन्। मेडिकल शिक्षामा माफियाकरण भनेको के हो? यसमा को–को, कसरी संलग्न हुँदा रहेछन् भन्ने जान्न मन लाग्यो। अनि सुरु भयो यो खोज।

रामु सापकोटा
रामु सापकोटा

मैले यस अघि खोज पत्रकारिता केन्द्रबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धी दुई वटा रिपोर्टिङ गरेको थिएँ। म तत्कालै नयाँ स्टोरी गर्ने विचारमा थिइनँ। तर मेडिकल शिक्षामा भित्रिएको विकृतिको विषयमा यत्रो बहस भएको देखेर यस विषयमा खोज गर्ने रुची बढ्यो। खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेसँग  प्रस्ताव राखेँ।

उहाँले ‘विषय राम्रो छ, तिमीले गर्न सक्छौ’ मात्रै भन्नु भएन, यो विषय कसरी खोज्ने र अरु कसकसको सहयोग लिने भनेर पनि सुझाव दिनुभयो। स्टोरी गर्ने क्रममा नेपालमा पहिलो मेडिकल कलेज खोल्ने विषयमा भएको विवादका बारेमा रिपोर्टिङ गरेका पत्रकार मोहन मैनालीसँग पनि आवश्यक राय लिएँ।

त्यसपछि म काममा निस्किएँ। यसअघि नक्कली डाक्टरको विषयमा रिर्पोटिङ गर्दा चिनेका एकजना डाक्टरलाई भेट्न गएँ। उनको जबाफ थियो- ‘तपाईँ लेख्न सक्नु हुन्छ भने म केही सूचना दिउँला।’

उनले दिएको त्यही ‘केहि सूचना’ लाई पछयाउँदै जाँदा यो मेडिकल माफियाको खुलासा गर्ने ‘स्टोरी’ तयार हुनपुग्यो।

यही बीचमा हामीले विराटनगरका दुईवटा मेडिकल कलेजले ‘खडेबाबा’ ल्याएर होटलमा राखेको सुइँको पायौँ। सेटिङ अनुसार पूर्व जानकारी दिएर काठमाडौंबाट मेडिकल काउन्सिलको टोली त्यही बेला निरीक्षणका लागि विराटनगर जाँदै थियो। हामीले काठमाडौं र विराटनगरबाट निरन्तर पिछा गर्‍यौँ।

विराटनगरबाट पत्रकार कमल रिमाल खडेबाबाको जानकारी लिने काममा लाग्नुभयो। त्यस क्रममा उहाँले केही तस्बिर पनि लिनुभएको थियो।

म थप डकुमेन्ट जुटाउन र मान्छे भेट्न थालेँ। मेडिकल शिक्षासँग सम्बन्धित निकायहरु शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, विश्व विद्यालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र ती निकायका वर्तमान र पूर्व कर्मचारीसँग भेटेर कुराकानी गरेँ। सबैले समस्या बताए। तर त्यसलाई पुष्टि गर्ने भरपर्दो सबुत र आधार दिन सकेनन्।

माफियाकरणको जालो थाहा पाउन यसको कारोबारमा संलग्न व्यक्तिसम्म पुग्ने प्रयत्न गर्‍यौँ। मेडिकल कलेजहरुका तर्फबाट स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, सम्बन्धित विश्वविद्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा सेटिङमा बसेको व्यक्तिको खोजी गर्‍यौँ।

एकजना सहयोगी मार्फत युनिभर्सल मेडिकल कजेल, भैरहवाका प्रशासन प्रमुख ध्रुव पौडेललाई भेट्यौँ। उनीसँग औपचारिक कुराकानी गरेर मात्रै चाहिएको सुचना पाउन सम्भव थिएन। हामीले पौडेलसँग पहिलो पटक २७ साउन २०७२ र दोस्रो पटक ७ भदौ २०७२ मा अनामनगरमा कुराकानी गरेका थियौँ। सार्वजनिक हितमा प्रयोग हुने, सार्वजनिक सरोकारको विषय भएकोले हामीले उनीसँग गरेको कुराकानी गोप्य रुपमा रेकर्ड गर्‍यौँ।

केही नेपाली र केही भारतीय विद्यार्थीको भर्ना गर्नुपर्ने र उनीहरु मध्ये केहीले एमबिबिएस जाँच पास गर्न जतिपनि पैसा खर्च गर्नसक्ने अवस्थामा रहेकोले के गर्न सकिएला भनेर सोध्यौँ। भोलि काउन्सिल, मन्त्रालय, अख्तियार, अदालतले गर्न सक्ने हस्तक्षेप र त्यसको उपचार बारेमा जान्न चाह्यौँ।

उनले बोलेका कुरा जस्ताको तस्तै दिएर मात्रै हाम्रो जिम्मेवारी पुरा हुँदैनथ्यो। त्यसैले उनले भनेका विषयलाई दोहोरो परीक्षण गर्‍यौँ। यस क्रममा हामीले लगभग सबैजसो विषयका ‘डकुमेन्ट’ जुटायौँ।

सम्बन्धन, निरीक्षण, सिट निर्धारण, परीक्षा र अदालती आदेश गरेर हामीसँग करिव डेढ सय पेजको डकुमेन्ट तयार भयो। उनीसँगको कुराकानी र हामीले जुटाएका कागजात भिडाएर हेर्दा नेपालको मेडिकल शिक्षाको एउटा कुरुप तस्बिर देखियो। हामीले पछ्याएको एउटा समाचार त्यही थियो।


पढ्नुस् मेडिकल शिक्षामा माफियातन्त्रबारे खोज पत्रकारिता केन्द्रका लागि पत्रकार रामु सापकोटाले गरेका दुई स्टोरीः

मैले आफै लगेर पैसा बुझाएको छुः ध्रुब पौडेल, प्रशासन प्रमुख युनिभर्सल मेडिकल कलेज भैरहवा

ध्रुब पौडेल। फोटोः CIJ Nepal

मेडिकल कलेजका विषयमा गोपाल पराजुलीको बेञ्चमा परेका कुनै पनि मुद्दा उनले हराएनन्। अदालतमा सिधै माथिबाट जाने हो भने रजिस्टारबाटै मिलाउनुपर्दो रहेछ। केस भाग लगाउने काम सर्वोच्च अदालतमा प्रधानन्यायाधीशबाट हुन्छ। कतिपय अवस्थामा केस मिलाउन गोपाललाई मात्र पैसा दिएर हुँदैन, रजिस्टारमार्फत नै केस मिलाउनु पर्ने हुन्छ। अहिलेका रजिस्टार पनि लाइनमै छन्। भनेका ठाउँमा मुद्दा हाल्न (पार्न) सक्छन्। रजिस्टारले नै पेलपाल गरेर अघि बढेपछि बिचरा कसको के लाग्थ्यो र? काउन्सिलमा शशी शर्मा (पूर्व अध्यक्ष) ले भाग पनि लाउँथे। उनी त्यहाँ हुँदा यसलाई यति दिने, यसलाई यति दिने भन्थे। उनले आफ्ना नाममा १० लाख माग्थे। काउन्सिलमा अनिल झा, मनोहर, प्रधान, अन्सारी (एई) र अरुले पनि लिन्थे। READ Full STORY

यसरी हुन्छ ज्यानमारा डाक्टरको उत्पादन

खडेबाबा। फोटोः CIJNepal

मेडिकल काउन्सिलले मेडिकल कलेजको सिट निर्धारण गर्दा आधार मान्ने निरीक्षण प्रतिवेदन तयार पार्ने प्रक्रिया ठूलो आर्थिक चलखेल हुने ठाउँ हो। प्रत्येक वर्षका लागि सिट निर्धारण गर्न काउन्सिलको टोली प्रायः साउन र भदौ महिनाको बीचमा कलेजको निरीक्षणमा जान्छ। निरीक्षणका क्रममा काउन्सिल सदस्यकै मिलेमतोमा सम्बन्धित कलेजलाई जानकारि दिएर निरीक्षण गर्ने काम अहिले पनि भइरहेको छ। यस वर्ष नोबेलका लागि फ्याकल्टी आयात गर्ने एजेन्ट निरञ्जनकुमार यादवका अनुसार जम्मा ५२ जना फ्याकल्टी भारतबाट ल्याइएका थिए। त्यसरी भारतबाट आयात गरिएका फ्याकल्टीलाई विराटनगरका फरक–फरक होटलमा राखिएको थियो। २ भदौ २०७२ दिउंसो करिब साढे एक बजे भारतबाट आएका खडेबाबाको समूह विराटनगरको रोडशेष चोकमा रहेको होटल स्टर्न स्टारमा प्रवेश गरेका थिए। उनीहरु भारतको बंगाल र कलकत्ताबाट नेपाल आएका थिए। READ FULL STORY


केही प्रतिक्रिया? कमेन्ट गर्नुस्।

1 Comments

  • ढुण्डि पौडेल (#)
    September 4th, 2015

    हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
    बन्दैन देश दुई चार सपूत मरेर नगए।
    कहाँ हट्थ्यो र विकृति गोविन्द केसी नभए
    बढ्दै जान्थ्यो यो अघि झनै रामुहरु नकस्सिएको भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *