पाँचौ सम्पादक कुर्दै नागरिक, राजीनामा दिएका प्रतीकको के छ प्लान?


एक महिनायता भूकम्प, परकम्प, उद्धार. राहत. हेलिकप्टर, कालिगण्डकी, पहिरोका आसपासमा नेपाली पत्रकारिता घुमिरहेको छ। आज अलि फरक समाचार लेखियोः नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानद्वारा राजीनामा, नयाँ सम्पादक ‘डिसिजन भएको छैन’

Nagarik Daily MastHeadराजीनामा दिनु र जिम्मेवारीबाट बिदा लिनु एउटै कुरा हुन् वा फरक छुट्याउने जिम्मा तपाईँको। खासमा ‘नागरिक’ का प्रधान सम्पादक प्रतीक प्रधानले आफ्नो जिम्मेवारीबाट बिदा लिएका हुन्।

अर्थात प्रधान सम्पादक भइरहन २०७२ जेठ १२ गते उनको कन्ट्र्याक्ट थपिनुपर्थ्यो, जुन उनले चाहेनन्।

प्रतीक प्रधानसँगै नागरिक छोडेका पत्रकार सुदीप श्रेष्ठका अनुसार प्रधानले व्यवस्थापनलाई आफ्नो जिम्मेवारी नथप्न पहिले नै सूचित गरिसकेका थिए। ‘भोलि (बैशाख १२ गते) बाट उहाँको समय सकिँदै थियो’, प्रतीकसँगै नागरिक छोडेका श्रेष्ठले भने, ‘उहाँले पनि नगराउनु (जिम्मेवारी थप) भन्दिनुभयो।‘

प्रतीकको ट्विट

प्रतीकले ट्विटमा ‘देशमा आएको ठूलो भूकम्प पश्चात आफ्नो कामको दायरा फराकिलो बनाउने सोच लिएको’ बताएका छन्। के हो त्यो सोच? प्रतिक्रियाका लागि प्रतीकलाई मैले सम्पर्क गरेको थिएँ।

प्रतीकको नयाँ प्लान

‘ह्वाट यु आर प्लानिङ फर?’ मिडिया कुराकानीको प्रश्नमा प्रतीकले आफ्नो योजना सुनाए-

‘यो भूकम्प आएपछि समाजसेवामा बढी नै इन्ट्रेस्ट लाग्यो र हामीले जनताको लेभलबाट केही न केही गर्नुपर्छ, नभए देशमा केही हुँदैन जस्तो लाग्यो’, उनले भने, ‘जनताको लेभलबाट केही गर्नलाई… एउटा मिडिया हाउसमा बसेर गर्न नसक्ने हुनाले र मेरो टाइम पनि सकिएको हुनाले अब मिडिया हाउसमा बसेर त्यो काम गर्दिन भनेर छोडेको हुँ।‘

‘तपाईँ मिडियाबाटै टाढा रहन खोजेको हो त?’

‘…तर मलाई थाहा छ म मिडियाबाट टोटल्ली आउट हुन सक्दिन’, उनले जबाफ दिए। प्रधानले नागरिक दैनिकमा लेखेको सम्पादकको अवसान शीर्षकको लेख लेखेका थिए, जहाँ उनले नेपालमा सम्पादकको उदय किन हुन सकेको छैन भन्नेबारे चर्चा गरेका छन्।   प्रधान सम्पादक प्रतीक प्रधानसँगै नागरिकका सेकेन्डम्यान सुदीप श्रेष्ठले पनि नागरिक छोडेका छन्।

सुदीपको ट्विटः

मैले उनीसँग पनि प्रतिक्रिया मागेँ- ‘ह्वाट यु आर प्लानिङ फर?’

उनी आउँदो आइतबार सिंगापुर जाँदै रहेछन्। ‘एसिया जर्नलिज्म फेलोसिपमा मेरो नाम निस्केको छ। म ३ महिना त्यहाँ रहन्छु’, उनले भने, ‘आए पछि के हुन्छ भन्न सक्दिन।‘

‘सँगसँगै नागरिक छोड्नुभयो। दुबैको योजना थियो?’

‘प्रतीक दाईले छोडेपछि मैले पनि छोड्ने भन्ने चाहिँ हाम्रो प्लान नै हो’, सुदीपले भने, ‘नयाँ आउने सम्पादकलाई प्लान गर्न सजिलो होओस् भनेर मैले उहाँ (प्रतीक) लाई नै राजीनामा बुझाएर निस्केँ।‘

यता समाचार पोस्ट नहुँदै ट्विटरमा नागरिकमा नयाँ सम्पादक को आउने हुन् भन्ने चर्चा सुरु भैसकेको थियो। पत्रकार उज्ज्वल आचार्यले गुणराज लुइँटेललाई नागरिक दैनिकको नयाँ सम्पादक भएकोमा बधाई र शुभकामना’ दिइसकेका थिए।

नागरिक दैनिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडिया प्रालिका प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीले भने नयाँ सम्पादक को हुने भन्नेबारे ‘निर्णय गरि नसकेको’ बताए। ‘केही कुरा त गोप्य रहलान् नि’, समाचारका लागि प्रतिक्रिया माग्दा प्रवन्ध निर्देशक ज्ञवालीले भने, ‘निर्णय गरिसकेको छैन।‘

नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवाली।
नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवाली।

नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशकले निर्णय नभैसकेको बताए पनि सेतोपाटीले भने गुणराज लुइँटेल नागरिकको प्रधान सम्पादक नियुक्त भएको लेखेको छ। गुणराज लुइँटेल सेतोपाटीकै प्रमुख लेखक/टिप्पणीकार हुन्।

‘नागरिक दैनिकको प्रधान सम्पादकमा सेतोपाटी सहकर्मी गुणराज लुइँटेल नियुक्त भएका छन्’, सेतोपाटी डट कमले नेपाल रिपब्लिक मिडिया स्रोतलाई उद्‍धृत गर्दै लेखेको छ, ‘लुइँटेलले भोलि (मंगलबार) देखि (जिम्मेवारी) सम्हाल्दैछन्।‘

कान्तिपुर पब्लिकेसन्स प्रालिमा कैलाश सिरोहियाका व्यापारिक साझेदार रहेको ज्ञवाली परिवार २०६५ साउन १६ मा सिरोहिया परिवारबाट छुट्टिएको थियो। त्यसको केही महिनापछि ज्ञवाली परिवारले नेपाल रिपब्लिक मिडिया स्थापना गरेको थियो।

नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक र नागरिकन्युज डट कम न्युज पोर्टल सञ्चालन गर्छ।

दुई वर्षअघि सम्पादक नियुक्त भएका प्रतीक प्रधानको राजीनामापछि नागरिक दैनिकले आफ्नो स्थापना कालको सातौँ वर्षमा पाँचौँ सम्पादक पाउने भएको छ। कान्तिपुरसँग अलग्गिएपछि नयाँ राष्ट्रिय दैनिकको तयारी थालेको ज्ञवालीको प्रकाशन संस्थाले सुरुमा युवराज घिमिरेलाई प्रधान सम्पादक नियुक्त गरेको थियो।

तर २०६६ वैशाख ११ गते ‘नागरिक’ दैनिक सुरु हुँदा घिमिरेले राजीनामा दिइसकेका थिए र नारायण वाग्ले प्रधान सम्पादक भए।  वाग्लेको तीन वर्षीय कार्यकालपछि किशोर नेपाल एक वर्ष र त्यसपछि दुई वर्ष प्रतीक प्रधान नागरिकको प्रधान सम्पादक बने।

अन्तिममा पत्रकार गिरीश गिरीको ट्विटः  

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *