पहिले राजनीतिले समाचार लेख्‍न दिएन, अहिले बजारले


‘नेपाली मिडियामा सेल्फ सेन्सरसिप’ सेसनका सहजकर्ता बोर्णबहादुर कार्की (नेपाल प्रेस काउन्सिलका अध्यक्ष) ले ‘वरिष्ठ पत्रकार’ सम्बोधन गरेपछि प्रस्तुतिका लागि उठेका नारायण वाग्ले (४७) ले आफूलाई ‘वरिष्ठ’ नभन्न आग्रह गरे।

‘कपाल फुल्यो भन्दैमा म वरिष्ठ होइन। यही पेशामा कपाल फुल्यो तर कपाल फुलाउँला भनेर लागिएको थिएन’, नारायणले भने।

नारायण ‘कान्तिपुर’ र ‘नागरिक’ दैनिकका पूर्व सम्पादक हुन्। यी दुई ‘ठूला’ पत्रिकासहित उनले अन्य मिडियामा गरी २५ वर्ष बिताए। शुक्रबार उनी आफ्नो पत्रकारिता करिअरमा समाचार कक्षमा ठोक्किन आएका ‘स्वार्थ’ बारे आफ्नो ‘अब्जरभेसन’ बाँड्दै थिए।

नेपाल पत्रकार महासंघले काठमाडौंको इन्द्रेणी ब्याङ्क्वेटमा ‘नेसनल कन्फरेन्स अन सेल्फ सेन्सरसिप’ विषयमा शुक्रबार कार्यक्रम गरेको थियो। त्यसै कार्यक्रमका एक वक्ता थिए नारायण। महासंघले युनेस्को र आइएमएसको सहयोगमा सञ्चालन गरेको युएनपिएफएन/युनेस्को प्रोजेक्ट अन्तर्गत कन्फेरेन्स भएको थियो।

कुनै पनि समाचार वा विचार प्रकाशन नगर्न कसैबाट दबाब आउनुभन्दा पनि सं‌भावित दबाबको आंकलन गरी आफैले त्यस्ता सामाग्री प्रसार नगर्नुलाई सेल्फ सेन्सरसिप भनिन्छ।

पत्रकारप्रति समाजको दृष्णिकोण ‘लाजमर्दो’

‘पत्रकारिता गरेको यत्तिका वर्ष भयो। मान्छे अझै हामीलाई कुन पार्टी, संगठन वा नेताको मान्छे हो भनेर सोध्छन्’, पत्रकारप्रतिको आम दृष्णिकोणबारे नारायणले भने, ‘अहिले बाहिर हिँड्नुस् त। सोध्छन्- कुन पत्रिका रे तपाईँ? को निकट हो? कस्तो बिडम्बनामा बाचिरहेका छौँ?’ पत्रकारप्रति समाजको दृष्णिकोण ‘लाजमर्दो’ रहेको नारायणको अनुभव छ।

कोही किन पत्रकार बन्छ? के थियो जसले नारायणलाई पत्रकारितामा तान्यो? ‘म त संयोगले आएँ। नियम/अनुशासन थाहा थिएन, बिस्तारै सिकियो’, नारायणले भने, ‘केही नयाँ गर्ने सोच आयो। लेख्न पनि पाइन्छ, पढ्न पनि पाइन्छ र पैसा पनि पाइन्छ भनेर पत्रकारिता पेशामा आइयो।’

तर यो पेशामा यत्तिका वर्ष बिताएपछि नारायणलाई लाग्दो रहेछ- पहिला राजनीतिले पत्रकारितालाई प्रभावित पार्‍यो, अहिले बजारले।

‘यो कुनै नयाँ कुरा होइन। मैले पहिला काम गरेका संस्था ठीक होइनन् पनि भन्न खोजेको होइन तर यो मेरो अनुभव हो’, नारायणले भने, ‘यो समस्या विश्वभर नै रहेछ।’

उनको अनुभवमा ४७ सालमा प्रजातन्त्र आएपछि सुरु भएको नेताबीचको बाझाबाझका पछि नेपाली प्रेस पनि लाग्यो।  ‘पत्रकार र पत्रिकाले सबैलाई सूचित गर्नुपर्ने हो तर नेताहरुले पो हामीलाई सुसूचित गर्न थाले’, नारायणले भने, ‘सूचना नेताको घरबाट आउन थाले। हाम्रो बास नै बिहानदेखि बेलुकासम्म नेताको घरमा हुन थाल्यो।’

राजनीतिले गाँजेको नेपाली मिडियालाई ४७ पछि आर्थिक उदारीकरणसँगै उदाएको आर्थिक क्षेत्रले पनि आफ्नो प्रभावमा पार्‍यो। ‘ठूला ठूला व्यापारीले के ल्याउँदैछन् भनेर तिनका वरीपरी जम्मा हुन थाल्यौँ। दुर्भाग्य त्यहीँबाट सुरु भयो’, उनले भने, ‘नेताहरुले हामीलाई आफ्नो कलहको माध्यम बनाए। हामीलाई विभाजित बनाए। हामीमा पनि कर्तव्यबोध भएन।’

४६ सालपछि राजनीतिक र आर्थिकक्षेत्रमा आएको उदारीकरण पत्रकारले बुझ्नै नसकेको उनले सुनाए।

उनले भने- ‘आर्थिक उदारीकरण आयो। ठूलाठूला उपभोग्य सामान आए। हस्पिटल नयाँ, स्कुल नयाँ र संस्कृति नयाँ। लगानी बढ्यो। सूचनाका लागि प्रतिस्पर्धा पनि भयो। मिडिया बढे। समाज नै अर्को धारतिर गयो। तर अन्ततः गहिरिएर हेर्दा के भयो त? फेरि पनि त्यो बजारले हामीलाई नराम्रोसँग गाँज्यो। पकडमा लियो। हाम्रो प्रेस जगतलाई पञ्जामा पार्‍यो। त्यसले हामीलाई उन्मुक्ति हुनै नदिनेजस्तो भयो। त्यसले हामीलाई राम्रोसँग समाचार लेख्नै दिँदैन। त्यसको जरा यसरी फैलिएको छ कि समाचार लेख्नै सकिन्न।’

मुलुकमा बहुदलीय राजनीति सुरु भएपछि पत्रकार पनि आआफ्ना आस्थाअनुसार ती दल निकट संगठनमा संगठित भए। पत्रकारका राजनीतिक संगठन बने। यो पनि सेल्फसेन्सरसिपको कारण बन्यो, जसले पत्रकारिता क्षेत्रको विकास हुन सकेन। ‘पार्टीगत प्रेस हाम्रो लिगेसी नै बन्यो किनभने पार्टीहरुलाई पनि आफूनिकट पत्रकार चाहिन्थ्यो। अहिले त्यो झन् बढ्दैछ’, उनले भने, ‘यो कुन व्यापारी निकट छ, कस्को विज्ञापन बढी ल्याउँछ भन्न् हिसाबले सोचिन्छ।’ यो सँगै विज्ञापनकक्षले सम्पादकीय कक्षसँग आफ्नो स्वार्थ साट्न थालेको उनले बताए।

प्रश्नप्रेम, पत्रकार र नायक

नारायण भन्छन्- मिडियामा स्वार्थ समूह छन् तर पनि पत्रकार भइरहन सकिन्छ। कसरी?

‘प्रश्न गर्ने अधिकार रहेसम्म म पत्रकार हुन्छु। प्रश्नप्रतिको प्रेमले नै पत्रकार जीवित हुन्छ। मसँग प्रश्न गर्ने अधिकार भएसम्म सेल्फ सेन्सरसिप मेरा लागि गौण हुन्छ।’ प्रश्न गर्ने अधिकार रहेसम्म एउटा पत्रकारका लागि कुन मिडिया भन्ने कुरा पनि गौण हुने उनले बताए।

४७ सालपछि मुलुकमा आएको परिवर्तन पत्रकारले बुझ्न नसकेको उनको अनुभव छ। ‘यी लक्षणबाट म मुक्त छु भन्ने होइन, यो हाम्रो पेशाकै समस्या हो’, उनले भने, ‘समाजका ‘भ्यालु’ ‘सिस्टम’ फेरिए। हिरोहरु बदलिए।’

समाजले जसलाई सफल मान्छे ठान्छ, मिडियाले पनि उसैलाई ‘हिरो’ मानेको उनले बताए।

‘अहिले त्यस्ता मान्छेका समाचार/सामग्री छापिन्छन् जो चतुर छ, छक्कापन्जा जान्दछ। छिटो पैसा कमाएर कार चढ्छ’, नारायणले भने, ‘सडकमा हिँड्ने मान्छे त कहिल्यै हिरो हुँदैन।’

समाज पनि असल पत्रकारितालाई सहयोग र खराब पत्रकारितालाई निरुत्साहित गर्ने खालको हुनुपर्ने उनले बताए। ‘त्यो बिस्तारै सुरु भएको छ। अहिले गलत लेखियो भने फेसबुक/ट्विटरमा आइहाल्छ। उत्तिखेरै माफी माग्नुपर्ने अवस्था छ।’

‘पत्रकारिता गर्न धेरै सजिलो तर खोजी पत्रकारिता गर्न धेरै गाह्रो रहेछ’ भन्ने आफूलाई ‘झनझन अनुभूति हुँदै गएको’ उनले बताए। ‘यति धेरै संख्यामा मिडिया बढे, पत्रकार बढे तर मनन् गरौँ त हामीले राम्रा स्टोरी कहाँ पढ्न पायौँ? वा हेर्न पायौँ?’

पत्रकारिता र समाचार सामग्री धेरै भए पनि ‘अनुसन्धान गरिएको, खोजबिन गरिएको र कडा प्रश्न तेर्स्याइएको पत्रकारिता असाध्यै न्युन’ रहेको उनले बताए।

‘सूचना टन्न छ तर सान्दर्भिकता छैंन। जवाफ छ तर प्रश्न छैन। विस्तृत छ तर औचित्य छैन। यस्तो पत्रकारिता त हामीले खोजेको होइन’, उनले भने।

किन त? किन छैन नेपालको पत्रकारिता खोजमूलक?

‘आइदर यु आर कम्प्रोमाइजिङ अर यु आर इन्कम्पिटेन्ट’ अर्थात् ‘कि म असक्षम छु कि मैले सम्झौता गरेको छु।’

‘यो निष्कर्ष निकाल्दै म बिदा हुन्छु’, नारायणले आफ्नो प्रस्तुति सिध्याए।

पहिलोपोस्ट डट कममा 17th April 2015 | ४ बैशाख २०७२ मा प्रकाशित। 

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.