नयाँ व्यवस्थापनमा अन्नपूर्ण पोष्ट


अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको व्यवस्थापन औपचारिक रुपमा परिवर्तन भएको छ । १२ वर्षदेखि अन्नपूर्ण पोष्ट प्रकाशन गर्दै आएको न्युज मिडिया प्रालि र रामेश्वर थापा नेतृत्वको नेपाल न्युज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) बीच चैतको पहिलो हप्ता भएको व्यवस्थापन परिवर्तन सम्वन्धि सम्झौता अनुसार पत्रिका नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुन थालेको हो ।

पत्रिकाको व्यवस्थापन परिवर्तनको विषयलाई २०७० बैशाख १० गतेको अन्नपूर्ण पोष्टमा ‘अन्नपूर्ण पोष्ट अब नयाँ व्यवस्थापनमा’ शीर्षकमा मुख्य समाचार बनाइएको छ । समाचारमा नयाँ प्रकाशन संस्थाका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्रवन्ध निर्देशक राजेन्द्रबहादुर सिंह रहेको उल्लेख छ ।

समाचारमा अध्यक्ष थापाबारे भनिएको छ – ‘पेसाले हेलिकोप्टर पाइलट थापा विभिन्न क्षेत्रमा उदयीमान र सफल मानिन्छन् । थापाले अग्रणी व्यवसायिक सञ्चार प्रतिष्ठानमा प्रवर्द्धकका रुपमा काम गरिसकेका छन् ।’

यस्तै प्रवन्ध निर्देशक सिंहबारे समाचारमा लेखिएको छ– ‘मिडिया व्यवस्थापन र सञ्चालन रणनीति निर्माणमा उनले राम्रो दखल हासिल गरेका छन् । उनी यस क्षेत्रमा रणनीति व्यवस्थापन गर्न सफल मानिन्छन् ।’

थापा र सिंह दुबै यसअघि कान्तिपुर मिडिया ग्रुपमा थिए ।

अन्नपूर्ण पोष्टले ‘हाम्रो प्रतिवद्धता’ शीर्षकको प्रकाशकीयमा लेखेको छ– ‘१२ वर्ष लामो अविछिन्न इतिहास बोकेको यो अखबारको एउटा नयाँ अध्याय सुरु भएको छ । यहाँसम्म यसको विकासको कालखण्ड पूरा भएको छ । अब यसले विकासको नयाँ उचाइ समात्नेछ ।’

अन्नपूर्ण पोष्टको प्रकाशनको जिम्मेवारी लिने निर्णय लामो तयारीपछि भएको भन्दै उसले पत्रिकामा पहिलेदेखि नै कार्यरत पत्रकार/ कर्मचारी आफ्ना मुख्य सम्पत्ति भएको उल्लेख गरेको छ ।

व्यवस्थापन परिवर्तन भएपनि त्यहाँ कार्यरत पत्रकार/ कर्मचारी भने यथावत छन् । पहिलेका सम्पादक जिबेन्द्र सिम्खडा बिदा भएपछि गुणराज लुइँटेलले सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।

आउँदैछ अनलाइन

हालको अन्नपूर्णपोष्ट डट कमलाई धेरैले ‘झुर’ अनलाइनको संज्ञा दिन्छन् । तर अब अन्नपूर्ण पोष्टको अनलाइन नयाँ रुपमा आउने भएको छ । उसले ‘आधुनिक विशेषता सहित’ अनलाइन संस्करण ल्याउने प्रकाशकीयमा उल्लेख गरेको छ ।

प्रकाशकीयमा लेखिएको छ – ‘संसारभरका अखबार रुखबिहिन (इन्टरनेट ?) संस्करणतर्फ गइरहेका बेला हामी भने छापा र अनलाइन दुबैमा बलियो उपस्थिति जनाउनेछौँ । र, समयको मागअनुसार हामी निरन्तर परिवर्तनशील हुनेछौँ ।’

राष्ट्र, राष्ट्रियता, जनता र लोकतन्त्रलाई संस्थाले केन्द्रमा राखेको प्रकाशकीयमा उल्लेख छ ।

पत्रिकाको कार्यालयपनि काठमाडौंको अनामनगरबाट तीनकुनेस्थित कर्पोरेट टावरमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.