रामेश्वर थापाले किने अन्नपूर्ण पोष्ट


अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि र नेपाल न्यूज नेटवर्क इन्टरनेशनलबीच औपचारिक सम्झौता भएपछि अन्नपूर्ण पोष्ट दैनिक बैशाख १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुने भएको छ ।

पत्रिका, रेडियो, टेलिभिजन सञ्चालनको तयारीका साथ माघ दोश्रो हप्ता दर्ता भएको रामेश्वर थापाको नेपाल न्यूज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) ले ब्रोडसिट दैनिक अन्नपूर्ण पोष्ट ‘किनेको’ हो ।

अन्नपूर्ण पोष्ट कति रकममा किनबेच भएको हो भन्नेकुरा भने गोप्य छ । सम्झौताबारे दुबैपक्षले औपचारिक रुपमा मुख खोलेका छैनन् । तर सीमित बजार र बढ्दो प्रतिष्पर्धाबीच नयाँ मिडिया खोल्नुको साटो चलिरहेकै मिडियाको स्वामित्व सम्हाल्ने परिपक्व निर्णय थापा-समूहले गरेको छ ।

एउटा अनलाइनले अन्नपूर्ण पोष्टको शत प्रतिशत शेयर थापाले किनेको दावी गर्दै लगभग १५ देखि २० करोडमा सम्झौता भएको उल्लेख गरेको छ । यस्तै अर्को एक अनलाइनले पनि यस् सम्बन्धि समाचार पोष्ट गरेको छ ।

यि दुई समूहबीच गत मंगलबार भएको औपचारिक सहमति अनुसार अन्नपूर्ण पोष्टमा हाल कार्यरत पत्रकार कर्मचारीलाई (वर्तमान सम्पादक बाहेक) यथावत राखिएको छ । सम्झौता अनुसार अन्नपूर्ण पोष्टका वर्तमान् सम्पादक जिबेन्द्र सिम्खडा पत्रिकाबाट बिदा भएका छन् ।

झण्डै ५० करोड रुपैयाँ सहित कान्तिपुर मिडिया ग्रुपबाट बाहिरिएका सिम्रिक एअरका प्रमुख रामेश्वर थापाले नयाँ मिडियाको तयारीस्वरुप मिडिया व्यवस्थापनको जिम्मेवारी कान्तिपुर एफएमका पूर्व स्टेशन मेनेजर प्रभात रिमाललाई र सम्पादनको जिम्मेवारी गुणराज लुइँटेललाई दिएका थिए । पछिल्लो समय जलश्रोत बिटमा नाम कमाएका पत्रकार विकास थापा लगायतका पत्रकार थ्रिएनआइमा आवद्ध भएका छन् ।

यसकारण भयो साझेदारी

थापाको समूहले २०१२ डिसेम्बर अन्तिम साता नयाँ मिडियाको नाम (नेपाली र अँग्रेजी पत्रिका, रेडियो र टेलिभिजन समेत) प्रस्ताव गर्न पत्रिकामा विज्ञापन गरेको थियो ।

त्यसलगत्तै मिडियाको सम्भाव्यता अध्ययनका लागि देश दौडाहामा निस्केको सम्पादक गुणराज लुइँटेल, प्रभात रिमाल सहितको टोली फर्केको केही समयमै अन्नपूर्ण पोष्ट दैनिक किन्ने सहमति भयो । यो टोलीको अध्ययनले अन्नपूर्ण पोष्ट कान्तिपुर दैनिक पछिको चलेको पत्रिका रहेको निष्कर्ष निकालेको बताइन्छ ।

बजारको बढ्दो प्रतिस्पर्धाबीच नयाँ ब्रान्ड स्थापित गराउन चुनौतिपूर्ण रहेको निष्कर्षमा पुगेको यो समूहले अन्नतः चल्तिमै रहेको स्थापित पत्रिकामा साझेदारी गरेको हो ।

पत्रिकाको सम्पादकको जिम्मेवारी पाएका लुइँटेलले मेचीमहाकाली यात्राबाट फर्केपछि हिमालमा लेखेका थिए – मिडियाले आफ्नो समस्या राखिदिएर सरोकारवालाको आँखा खोलिदेओस् भन्ने अपेक्षा राखेको यसपटकको देशयात्रामा सबैतिर भेटियो । मेचीदेखि महाकालीसम्मको यसपटकको यात्रामा सर्वसाधारणबाट लगभग एकैखाले गुनासो सुनियो –‘राजनीतिका समाचार अति भए ।’ उनीहरूको अर्को गुनासो थियो – ‘नकारात्मक समाचार पनि अति नै भए ।’

नेपालको सन्दर्भमा नौलो ‘डिल’

नेपाली मिडिया उद्यागेमा यसप्रकारको ‘डिल’ नौलो हो । नेपाली मिडिया उद्यागेमा यसप्रकारको ‘डिल’ नौलो हो । यो डिलमा कोही बाहिरिएको छैन, भित्रिएको छैन, बरु एउटा समूहले चलिरहेको मिडिया किनेको छ । कान्तिपुरबाट बाहिरिएको ज्ञवाली परिवारले नेपाल रिपब्लिक मिडिया स्थापना गर्‍यो । ज्ञवाली परिवारले ब्रान्ड कान्तिपुरलाई नै बेच्यो । यस्तै रामेश्वर थापा कान्तिपुरबाट बाहिरिँदा पनि यस्तै भयो । तर अन्नपूर्ण पोष्टमा कोही बाहिरिएको छैन । नितान्त नयाँ व्यवस्थापनले अन्नपूर्ण पोष्टको ब्रान्ड किन्यो । थापा समूहले कम्पनी किनेको छैन, पत्रिकामात्र किनेको छ ।

टेलिभिजन असारमा

सुरुमा अंग्रेजी र नेपाली दैनिक, रेडियो र टेलिभिजन सञ्चालन गर्ने भनिएपनि थ्रिएनआइले रेडियोलाई प्राथमिकतामा नराखेको बताइन्छ । तर असारसम्ममा टेलिभिजन च्यानल सञ्चालनको तयारीका साथ काम भैरहेको छ । अंग्रेजी दैनिक प्रकाशनको तयारी पनि तिब्र रहेको श्रोत बताउँछ ।

अन्नपूर्णका सम्पादकलाई ‘छुट्टी’

न्यूज मिडिया प्रालि र नेपाल न्यूज नेटवर्क इन्टरनेशनलबीचको साझेदारीपछि अन्नपूर्ण पोष्टका अहिलेका सम्पादक जिबेन्द्र सिम्खडा ‘देशबिनाको नागरिक’ जस्ता भएका छन् । क्रेता र बिक्रेताबीचको डिल अनुसार उनले आँफुबाहेक सबै कुरा बुझाएका छन् ।

डिल अनुसार अब अन्नपूर्ण पोष्टमा उनको भूमिका रहनेछैन तर पुरानो व्यस्थापनबाट भने उनी तत्काल बिदा भैहाल्ने छैनन् । व्यवस्थापन परिवर्तनको ‘डिल’ अनुसर उनीसँगको हिसावकिताव केही समय बाँकी रहनेछ ।

न्यूज पुल यथावत्

व्यस्थापन फरक भएपनि अन्नपूर्ण पोष्ट र हिमालयन टाइम्स दैनिकबीच सामाग्रीको आदानप्रदान भने हुन्छ । यो काम एउटा न्यूज पुलले गर्छ । यो न्यूज पुलले खासगरी काठमाडौं बाहिरका समाचार संग्रहीत गर्ने र दुई पत्रिकालाई बाँड्ने काम गर्छ ।

अब पनि यो न्यूज पुल यथावत रहने छ । रामेश्वर थापाको नेपाल न्यूज नेटवर्क इन्टरनेशनलले अन्नपूर्ण पोष्टको सामाग्रीका लागि सोही न्यूज पुलमा भर पर्नेछ । अब पनि यसले दुई पत्रिकाबीच समाचार एजेन्सीकै जस्तो भूमिकामा काम गर्नेछ ।

जिल्ला बाहिरका रिपोर्टरको सम्पर्क सम्पादक वा सम्पादकीय टिमसँग भन्दा पनि यही न्यूज पुलसँगै हुनेछ । ‘काठमाडौं बाहिरका पत्रकार न्यूज पुलका कर्मचारी जस्ता देखिन्छन्’, अन्नपूर्ण पोष्टमा सम्पादन तहमा कार्यरत एक पत्रकार भन्छन्, ‘पत्रिकामा छापिएका समाचार र बाइलाइनलाई आधारमानेर पत्रकारलाई कुन मिडियाको भनेर छुट्याउन गाह्रो पर्ने देखिन्छ ।’

दुई व्यवस्थापनबीचको सम्झौता अनुसार नेपाल न्यूज नेटवर्क इन्टरनेशनल यो न्यूज पुलमा सँधै निर्भर रहनैपर्छ भन्ने छैन । त्यसैले भविष्यमा यसले आफ्नै ढंगले काम गर्न भने सक्नेछ ।

आप्का र लगानी बिबाद

धेरैलाई लाग्न सक्छ अन्नपूर्ण पोष्ट र हिमालयन टाइम्स अँग्रेजी दैनिक एउटै व्यवस्थापन अन्तर्गत छन् । तर वास्तविकता के हो भने यि छुट्टाछुट्टै संस्थाले चलाउँछन् । हिमालयन टाइम्स इनटरनेशनल मिडिया नेटवर्क नेपाल प्रालिले प्रकाशन गर्छ भने अन्नपूर्ण पोष्ट दैनिक, न्यूज मिडिया प्रालिले । यि दुबै समा प्रिन्टिङ प्रेसबाट छापिन्छन् ।

एसिया प्यासिफिक कम्युनिकेसन एसोसियटस् (आप्का) नेपाल प्रालिले यि दुईको मार्केटिङ गर्छ । अन्नपूर्ण पोष्ट र हिमालयन टाइम्स छाप्ने समा प्रिन्टर्समा पनि आप्काकै लगानी छ । आप्का भारत लगायतका देशमा लगानी रहेको वहुराष्ट्रिय कम्पनी हो । अब पनि पत्रिका समा प्रिन्टर्समै छापिने छ । यसको वितरण र बजारीकरणको काम पनि आप्काले नै गर्ने छ ।

यि दुई पत्रिकामा पर्दा पछाडीबाट भारतीय लगानी रहेको आरोप मिडिया वृत्तमा लाग्ने गरेको छ । पढ्नुहोस्ः सञ्चारमा विदेशी लगानीको कुप्रभाव

थ्रिएनआइका चुनौति

सबैखालका मिडिया सञ्चालन गरिहेको आफ्नो पूर्व साझेदार कान्तिपुर मिडिया ग्रुपलाई टक्कर दिने तयारीका साथ मिडिया सञ्चालनको तयारीमा रहेका थापाको सफलता असफलता आँकलन गर्न सहज छैन ।

अन्नपूर्ण पोष्टमा कार्यरत सबै पत्रकारलाई यथावत राखेर पत्रिका सञ्चालन गर्न तत्काल सहज देखिएपनि बजार र व्यवस्थापनको अपेक्षासँग सेटिङ मिलाउन सोचेजति सजिलो देखिन्न । कान्तिपुर र नागरिकका केही पत्रकार नयाँ मिडियामा आउने चर्चा पनि यथावत् छ । यदि त्यस्तो हो भने कर्मचारी व्यवस्थापनपनि थ्रिएनआइको मुख्य चुनौति हुन सक्छ ।

जे होस्, बैशाखमा नयाँ व्यवस्थापन अन्तर्गत अन्नपूर्ण पोष्ट छापिनेछ । प्रतिष्पर्धा बढ्नेछ । अपवादलाई छोडेर भएकै मिडिया सञ्चालन कठिन भएको बेला चलेकै ‘ब्रान्ड’ किन्ने थ्रिएनआइको निर्णय भने सुझबुझपूर्ण देखिन्छ ।

भनिन्छ, कन्टेन्ट इज किङ । कुनै मिडियाको स्थायित्व मुख्यरुपमा उसले पाठकलाई पस्किने सामाग्रीमा निर्भर रहन्छ ।

उही पत्रिका तर फरक व्यवस्थापन, उनै पत्रकार तर बेग्लै सम्पादक सहितको यो पत्रिकाले कस्ता सामाग्री पस्किन्छ हेर्न बाँकी छ ।

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.