किन जल्यो ‘सेतो धरती’ ?


अमर न्यौपाने एक्काइसौँ शताब्दीको नेपालका त्यस्ता लेखक भए जसको किताब कुनै कारण बिना जलेको छ । त्यो त्यस ठाउँमा जलेको छ जुन राजधानी बाहिरको सबैभन्दा महत्वपूर्ण साहित्यिक सहर हो । सरुभक्त, तीर्थ श्रेष्ठ, विजय वजिमय, रमेश श्रेष्ठ जस्ता प्राज्ञहरुको सहरमा यस वर्षको उत्कृष्ट मानिएको कृति डढेको छ । यी प्राज्ञ त्यस कितावको धूवाँ सुँधिरहेका छन् । नेपाली साहित्यमा यो पनि एउटा विम्व बनेको छ ।

भूजेल जातिको अपमान गरेको भन्दै एक संस्थाले पोखरामा मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’ जलाइएपछि त्यसैको प्रतिक्रियामा गत कात्तिक १८ गते नागरिक दैनिकमा प्रकाशित लेखक कृष्ण धरावासीको ‘खरानीमा छरिएका अक्षरहरु’ शीर्षकको लेखको अंश हो यो ।

धरावासीले आफ्नो लेखकीय अधिकार प्रयोग गरि गलत सन्देश प्रवाह गरेको भन्दै पोखराका साहित्यकार सरुभक्तले गत कात्तिक २० गतेको नागरिक दैनिकमा ‘जनतालाई वास्तविकता बोध गराउन’ भन्दै एउटा पत्र प्रकाशित गरे । पत्रमा सरुभक्तले भनेका छन् – उपन्यास जलाउनेहरुले आवेगमा के–के गरे भनने हामीले नजिकबाट अध्ययन गरिरहेका थियौँ । अवश्य हामी साहित्यकर्मीहरु बिरोधको त्यो शैलीमाथि सहमत थिएनौँ तर अन्य कुरामाथि विचार नगरी तत्काल प्रतिक्रिया व्यक्त गर्दा त्यसले पोखरामा जातिय विद्वेष र द्वन्द्व बढाउने सम्भावना थियो ।

धरावासीको ‘घिउ थपवादी चिन्तन’ ले आफुलाई दुखी बनाएको भन्दै सरुभक्तले लेखेका छन् – ‘हामीले अनिच्छापूर्वक धूवाँ सुँघ्न वाध्य भयौँ तर तपाईँले संकेत गर्नुभएझैँ हामीले कुनै नकारात्मक बिम्ब तयार पारेका छैनौँ । हामीले सहिष्णुतापूर्ण बिम्बमात्र रचना गरेका थियौँ । तपाईँले बीचमा असहनशीलपूर्ण बिम्बमात्र रचना गरिदिनुभयो । सच्चिन मन पराउनुहुन्छ भने कृपया सच्चिनुहोला ।’

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

म सेतो धरतीको साहित्यिक विवेचना गरिरहेको छैन । लेखक प्रकाशकलाई व्यक्तिगत रुपमा चिन्दापनि चिन्दिन । कसैको रचना जलाइनु जायज लाग्ने कुरै भएन । झन् सेतो धरती उपन्यास पढेपछि लाग्यो, पुस्तक नै जलाउनुपर्ने गरि यसमा अन्यथा केही लेखिएकै छैन । त्यसैले मनमा उठेका भावनलाई जोडजाड पार्दैछु ।

भुजेल समाज सेवा समिति नामको संस्थाले आफ्नो जातिको अपमान भएको भन्दै २०६८ सालको मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ का केही प्रति जलाएको खबर सामाजिक सञ्जालमा फैलियो । केही अनलाइनमा पनि समाचार आयो । मेरो इन्बक्समा पनि दुईवटा तस्बिर आइपुगे पोखराबाट । (तस्बिर खिच्नेको नाम थाहा छैन ।)

पुस्तक जल्यो तर आफैले पढेको छैन । पहिला पनि पढ्ने रहर हुँदाहुँदै व्यस्तताले पढ्न भ्याएको थिइन । दशैँ आयो, झन् व्यस्तता बढ्यो । पढ्न भ्याइएन । पुस्तक जलाइएको घटना झण्डै झण्डै सेलायो ।

कृति जलाएको झण्डै दुई हप्तापछि अर्थात कात्तिक १६ गते पुस्तकका लेखक अमर न्यौपाने र प्रकाशक फाइनप्रिन्टका नीरज भारीले पुस्तक जलाइएको, बिक्रीमा अवरोध गरिएको र प्रतिबन्ध लगाउन माग गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेपछि पुनः विषयको उठान भयो । पुस्तक जलाइएको घटनालाई लेखक प्रकाशकले ‘लोकतन्त्र र स्वतन्त्रताको युगमा लेखकीय, प्रकाशकीय, पाठकीय र व्यवसायिक स्वतन्त्रतामाथि आक्रमण भनेका छन् ।

त्यसको दुई दिनमै प्रकाशित भएको धरावासीको लेख र सरुभक्तको प्रतिवादले पुस्तक पढ्न अझ प्रेरित गर्‍यो । र, यो हप्ता सेतो धरती पढेँ ।

आफ्नो जातिको अपमान भयो भन्दै कृति जलाउनेहरुप्रति दयापनि लाग्यो । पुस्तकको बिरोध गर्नेहरुले आपत्तिजनक ठानेका वाक्य र सम्वादहरु यहाँ प्रस्तुत गर्दैछु ।

…………………………………………

ती नौला तर मैला लुगा लगाएका मान्छेहरु डोली बोक्न तयार भए । ती डोले रहेछन् । घर्तीहरु । (पृष्ठ ३२)
…………………………………….

उनको पिठ्यूँ बाको जस्तो सुरक्षित र भरलाग्दो लागेन । उनको पिठ्यूँबाट चिप्लिएर खस्न लागेँ भने पनि बाले झैँ मलाई तलबाट उनले आफ्ना हातले थाम्नुको साटो बेलाबेलामा कमिलाले टोकेझैँ चिमोटिरहे । उनको पिठ्यूँ पनि बाको पिठ्यूँजस्तो पितृवत् स्नेहले भरिएको भए उनको पिठ्यूँमा म निदाउने थिएँ होला । उनको पिठ्यूँबाट कहिले देखिको हो कुन्नी बासी पसिना गन्हाइरहेको छ । पसिनाले उनको शरीरको मैलो फोहोर पानीझैँ बगिरहेको हुँदो हो लुगाभित्र । कति फरक हुँदोरहेछ बाको र अरुको पिठ्यूँमा । (पृष्ठ ३५)
…………………………………..

दुल्हन फर्काउन जाने अरे । मेरा खुट्टा भने बिहानैदेखि घरजाने बाटो हिँड्न हतारिएका छन् । कोशेलीहरुको थुन्से बोक्न घर्तिनी आइन् । (पृष्ठ ५५)
………………………………………..

भदौका अन्तिम दिनहरुमध्ये एक दिन । हिलो बाटो । कतैकतै जुका पनि लाग्दैछन् । अघिअघि कान्छा ससुरा र घर्ती छन् । पछपछि फुपु सासु मलाई समाएर हिँडाउँदैछिन् ।

हिँड्न गारो भइर्च नानी ?

छैन ।

तिनले अगाडि हिँडेका घर्तीलाई देखाएर भनिन्, ‘तिम्लाई बोक्ने मुन्छे नी आको छ । आत्तिनुपर्दन ।’

बोक्न भनेर आका तिनै मान्छे हुन् जसले मलाई बिहेमा बोकेका थिए । मलाई पुठ्ठामा पटुकाको गाँठो पारिदिएर अप्ठ्यारो बनाइसदएका थिए । बुढी कमिलाले झैँ कम्तिमा सत्रचोटी पुठ्ठामा चिमोटेका थिए । त्यो भन बढी कष्ट दायक उनको शरीरबाट आएको पसिनाको अमिलो गन्ध थियो । सम्झिँदा पनि त्यो गन्ध सोझै नाकमा आइपुग्छ । धेरै कुरा त सम्झन्न तर त्यो गन्ध र चिमोटाइ कहिल्यै बिर्सन्न होला । त्यही सम्झिएर एक्कासी म आत्तिएँ र मैले भनेँ, ‘भो म आफै हिन्चु ।’ (पृष्ठ ७७)
……………..

डोले घर्ती मलाई देखेर उदास भए । केही बोलेनन् । उनलाई देख्नासाथ परैबाट पनी उनको शरीरको पसिनाको अमिलो गन्ध मेरो नाकमा छिरेर फोक्सोसम्म पुगेजस्तो लाग्यो । त्यसैले मैले हतारहतार अमिलो गन्हाएको सास फ्याँकेँ । कहिले त सम्झिँदा पनि उनको शरीरको गन्ध आउँछ । तर जति गरे पनि मलाई आफ्नै दुलहाको गन्ध भने थाहा छैन । घर्तीदाई तिनै हुन् जसले म दुलही हुँदा बोकेका थिए । र, पुठ्ठामा पटुकाको गाँठो पारेर सारै अप्ठ्यारो बनाइदिएका थिए । पुठ्ठामा चिमोटेर खुब दुख दिएका थिए । कतै यिनको अन्तर्मनले म दुलही भएकोमा अस्वीकार गरिरहेको त होइन त्यतिबेलै ?
(पृष्ठ ९७)
…………………………….

बिरोध गर्नेहरुको आपत्ति २ ओटा कुरामा रहेछ । १. नामबिनाको पात्र डोले घर्ती खडा गरेर जातिमाथि प्रहार गरियो । २. पसिनाको अमिलो गन्ध आएको भनेर अपमान गरियो ।

तपाईँ नै भन्नुस्, माथिका सम्बाद वाक्य पुस्तक नै जलाउनुपर्ने गरी आपत्तिजनक छन् ? सिर्जनात्मक लेखनमा पात्रहरु जुनरुपमा पनि आउन सक्छन् । यदि त्यसरी जातीय आँखाले खोज्दै जाने हो भने त विश्वविद्यालय तहमा पढाइने धेरै कृति जल्न बेर छैन ।

अमरको सेतो धरतीमा एक बालविधवाको दर्दनाक कथा समेटिएको छ । १९९० को भूकम्पको कथादेखि सुरु उपन्यासमा सामाजिक संस्कारका कारण जीवनभर अभिषप्त भएर नियतिको सजायँ भोगेकी तारा मुख्य पात्रका रूपमा छिन् । उनका जीवनका विडम्बनासँग अन्यपात्रहरू पनि जोडिएर आउँछन् ।

पात्रहरुको मनोविज्ञानमा ज्यादा केन्द्रीत यो कृतिमा कास्कीको हंसपुर, स्याकलुङ, आर्वा, पोल्याङ, तनहुँको सिसाघाट, दुलैपानी, चितवनको देवघाट र मादी नदी स्थानका रुपमा आएका छन् । उपन्यास पढिसक्दा थाहा हुन्छ हंसपुर गाविसको माझगाउँमा कथा धेरै घुमेको छ ।

लेखकले उपन्यासको थालनीमा ताराको वाल मनोविज्ञान र पछि यौन मनोविज्ञानलाई निकै सजिव ढंगले प्रस्तुत गरेका छन् ।

लेखक अमर न्यौपानेले ‘सेतो धरतीमा फूलेका हिउँका फूलहरु’ शीर्षकको लेखमा कृतिको रचना गर्भबारे केही उल्लेख गरेका छन् ।

अब पालो तपाईँको । तपाईँको प्रतिक्रिया के छ ? कृतिमा रहेको यस्तै सामान्य विषयवस्तुका कारण विवादित बनेका/ बन्नुपरेका वा बिरोध खेपेका नेपाललका लेखक/ कृतिबारे तपाईँसँग भएका अनुभव साट्नुहोस् कमेन्ट बक्समा ।