पत्रकारको ७२ घण्टे ‘गुफा’ अनुभव


७२ घण्टासम्म अनुसन्धानमूलक न्युज ल्याबमा बसेर निस्किएका पत्रकार रजनीश भण्डारीका आँखा निन्द्राले लठ्ठ देखिन्थे। ‘मलाई त निन्द्रा पो लागेको छ त’, न्यु मिडिया गुफा २०१२ नाम दिइएको अनुसन्धान कार्यक्रमको समापन कार्यक्रममा उनले भने, ‘म बिहान ४ बजेसम्म पनि स्टोरी तयार पार्दै थिएँ।’

Photo: Media Gufa
Photo: Media Gufa

न्यु मिडियामात्र प्रयोग गरेर समाचार तयार पार्ने चुनौती पाएका रजनीशले बैदेशिक रोजगारी र यसको सामाजिक मूल्यका बारेमा सामाग्री र सम्भावित श्रोत खोज्न फेसबुक, ट्वीटर लगायतका सोसल मिडियाको सहयोग लिए।

तीन दिनसम्म जारी कार्यक्रमको समापनका लागि आयोजक मिडिया फाउन्डेसनले भदौ २५ गते सोमबार काठमाडौंको होटल मण्डपमा गरेको कार्यक्रममा तीन दर्जनभन्दा बढी पत्रकार तथा मिडिया अनुसन्धानकर्ताहरु सहभागी थिए।

‘कतिपय मानिसहरु हामीलाई फोन नम्बर नै दिएर कल गर्न भन्थे’, गुफा बसाइमा सूचना संकलनका क्रममा भोगेका अनुभव सुनाउँदै उनले भने, ‘सोसल मिडियाको मात्र प्रयोगबाट समाचार संकलन गर्नु आफैमा चुनौतीपूर्ण थियो तर यो सम्भव छ भन्ने हामीले प्रमाणित गर्‍यौँ।’ उनले स्काइपीको माध्यमबाट बैदेशिक राजगारीका क्रममा बिदेशमा रहेका कतिपय नेपालीलाई भेटे र आफुलाई आवश्यक पर्ने सूचना र जानकारी लिए।

रजनीशको जस्तै अनुभव छ रेडियो पत्रकार बिनु सुवेदीको पनि। छिटोछिटो समाचार तयार पार्नुपर्ने रेडियोको प्रकृतिका कारण हुनसक्छ उनले अन्य पत्रकारको भन्दा पहिला अनुसन्धान टोलीलाई समाचार बुझाइन्। सात महिनाकी गर्भवती बिनुले आफ्नो शारीरिक कठिनाइका बाबजुद सफलतापूर्वक अनुसन्धानमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको बताइन्।

कर्णालीमा खाद्य विकल्पका बारेमा समाचार तयार पारेपछि न्यु मिडिया टेक्नोलोजीको प्रयोगबाट पनि आम नागरिकको मुद्दामा समाचार तयार पार्न आत्मविश्वास बढेकोले बिनु दंग देखिन्थिन्। सोसल मिडियाको माध्यमबाट काठमाडौंका मानिस भन्दा कर्णालीका मानिस चाँडो भेटिएको बिनुले बताइन्। ‘मेरो अध्ययनलाई मात्र आधार मान्ने हो भने कर्णाली काठमाडौं भन्दा कम रहेनछ’, बिनुले भनिन्, ‘प्रविधिको प्रयोगले काठमाडौंमा उपलब्ध श्रोत भन्दा कर्णालीका श्रोत पहिला भेटिए।’

अनुसन्धानका अर्का सहभागी केशव कोइराला समापन कार्यक्रमको अन्त्य सम्मपनि आफुलाई दिइएको काम सम्पन्न गर्न तल्लिन देखिन्थे। ‘सोसल मिडियाको प्रयोग गरेर स्थानीय श्रोतलाई भेट्नु निकै कठिन थियो’, उनले भने, ‘२५–३० जनालाई खबर गरेपछि २–३ जनाको रिप्लाइ आउने, त्यो पनि कहिले आउँछ भन्ने ठेगान नहुने।’ यतिसम्मकी केशवले स्थानीय श्रोतसम्म पुग्न आफ्नै बहिनीको फेसबुकमा रहेकी एक शेर्पाथरकी महिला (?) को फेसबुकमा गएछन् र उनको फ्रेन्ड लिस्टमा रहेका दुई दर्जनभन्दा बढीलाई क्रमैसँग फ्रेन्ड रिक्वेस्ट पठाएछन्। धन्य! ती मध्ये दुईतीनजना केशवको स्टोरीलाई काम लागेछन्। धेरै अपरिचित मानिसहरुलाई सोसल मिडिया मार्फत भेटेर सूचना संकलन गरेको उनले अनुभव सुनाए।

गुफामा सहभागी पत्रकार गुणराज लुइँटेलले मिडिया अनुसन्धानकर्ता, मिडियाकर्मी र विज्ञबीच सहकार्य भएमा नेपाली मिडिया अनुसन्धानले ठुलो फड्को मार्न सक्ने बताए। अर्का सहभागी पत्रकार अरुण राईले समाचार संकलन र प्राप्त सूचनाको परीक्षणमा सोसल मिडिया निकै सहयोगी साधन बन्न सक्ने अनुभव सुनाए।

अनुसन्धानको आयोजक मिडिया फाउन्डेसनका धर्म अधिकारीले अनुसन्धानबाट प्राप्त नतिजा सार्वजनिक गर्न केही समय लाग्ने जानकारी दिए। ‘सहभागीको हरेक गतिविधि रेकर्ड गरिएको छ, त्यसलाई व्यवस्थित गर्नपनि समय लाग्छ’, उनले भने, ‘अनुसन्धानबाट प्राप्त कन्टेन्ट भन्दा पनि यसमा अपनाइएको प्रोसेस महत्वपूर्ण छ।’

गुफाभित्र छिर्नुअघिसम्म सहभागीलार्ई कस्लाई के विषय पर्छ भन्ने बारे जानकारी दिइएको थिएन। अनुसन्धान अवधीभर मोबाइल तथा फोन वर्जित थियो। सूचना संकलनका लागि इन्टरनेटको प्रयोग एक मात्र विकल्प थियो। सहभागीहरु विभिन्न आधिकारिक वेबसाइटमा भेटिने डकुमेन्ट र सामाजिक सञ्जालहरुमा उपलब्ध श्रोतमा निर्भर हुनुपर्थ्यो।

सोसल मिडिया प्रतिबन्ध गर्ने मिडियालाई सुझाव

काठमाडौंका कतिपय नाम चलेका मिडिया हाउसले फेसबुक ट्वीटर लगायतका सोसल मिडिया प्रयोगमा पत्रकारलाई रोक लगाएको सुन्न पाइन्छ। उनीहरुका लागि यो न्यु मिडिया गुफा एउटा शिक्षा बन्न सक्छ। सोसल मिडिया सूचना थाहा पाउने गतिलो माध्यम त हो नै, सँगसँगै सूचना संकलनको पनि माध्यम हो भन्ने मिडिया हाउस र खासगरि त्यहाँ नेतृत्व सम्हालिरहेका सम्पादकहरुले बुझिदिने हो भने सोसल मिडिया मुलधारका मिडियाका लागि पनि गतिलो साधन बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *