के गर्दैछन् पत्रकारिता पढेकाहरु?


 

एउटा खुल्दुली मेरो मनमा छ । नेपालमा पत्रकारिता पढेर उर्तीण भई वा विदेशमा भूतपूर्व विद्यार्थीले आआफ्ना कार्यभूमिमा के पत्रकारिता पेसा नै अपनाएका होलान त ? के आमसञ्चारका सिद्धान्त प्रयोग गरिराखेका होलान त ?

  • लेखकः लाल देउसा राई

विगत साढे तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयले पत्रकारिता विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा स्थान दिन थाले पछि विगत दुई दशकदेखि अन्य विश्वविद्यालयअन्तर्गतमा आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, कलेजहरुले पनि पत्रकारिता तथा आमसञ्चारको उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्न थाले । त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक अर्थात प्लस टु को तहमा पनि पत्रकारिता तथा आमसञ्चारको कार्यक्रम राखेको छ । तालिम केन्द्रहरु पनि खुलेका छन् । फलस्वरुप आज पत्रकारिता तथा आमसञ्चारका सिद्घान्त पढेका नेपालीको सङ्ख्या बाक्लै छ ।

मेरो खुल्दुली भनेको यी भूतपूर्व विद्यार्थीले पत्रकारिताको पेसा वा आमसञ्चारको सिद्घान्तकै प्रयोग कसरी हेरीराखेका होलान ? यसबारे आजसम्म वैज्ञानिक सामाजिक अध्ययन अनुसन्धान भएको पाइँदैन । हुन त मैले केही वर्ष अघिदेखि भन्दै लेख्दै आएको हुँ, पत्रकारिताका भूतपूर्व विद्यार्थीले एउटा एल्मुनाई एसोसियसन स्थापना गरे आफु माझ सूचना आदानप्रदान हुन सक्छ । यस्तो संयन्त्र निर्माण गर्दा सार्वजनिक रुपमै उनीहरुले आफ्नो समुहको स्थिति, गतिविधि, प्रगति तथा भविष्यका लागि मार्ग दर्शनबारे जानकारीको सँगालो तयार गर्न सहज हुने थियो । आज यस्तो संस्था हुन्थ्यो भने सायद मेरो खुल्दुली पनि साम्य हुने थियो । जे होस्, मैले यदाकदा यस्ता विद्यार्थीहरुसँग उनीहरुले आमसञ्चारको माध्यम, पत्रकारितालाई आफ्नो समाज र संस्कृतिसँग कसरी जोडेर के बुझेका छन् भन्ने जिज्ञासा राख्दा थरीथरीका भोगाइ, चेताइ, बेहोराइबाट मानसिक बोध भएका कुराहरु थाहा पाउने गरेको छु ।

‘नेपाली पत्रकारिता भनेको पोलिटिकल लाइन हो ।‘ अझ अरुले थप्छन, ‘यो बिजनेस लाइन हो ।’

कसैकसैले भन्दछन्, पत्रकारिताको वास्तविक अभ्यासका जटिल पक्षहरुसित जुधेर जीवन धान्ने क्रममा आमसञ्चार तथा पत्रकारिताको आभ्यासिक सिद्घान्तहरु कताकता हराएको जस्तो लाग्दो रहेछ । कसैकसैले भन्दछन्, ‘पत्रकारिता नपढेका सहकर्मीसित काम गर्दा बेग्लै किसिमको अनुभुति हुँदोरहेछ ।’ कसैकसैलाई भने आमसञ्चारको क्षेत्रमा प्रयोग गर्दा आफु कुनै निश्चित दिशातर्फ सोचेरै अग्रसर भइरहेको अनुभव हुँदोरहेछ ।

कुनैकुनै भूतपूर्व विद्यार्थी विश्लेषणात्मक प्रस्तुति गर्दै भन्दछन्, ‘पत्रकारिता आभ्यासिक सिद्घान्त व्यवहारिक ढंगबाट कुनै मिडिया हाउस वा समाचार कक्षको परिवेशमा बुझेर प्रयोग गर्नु र क्याम्पस वा स्कुल कलेजका कक्षामा बसेर पत्रकारिता वा आमसञ्चारका विशुद्घ सिद्घान्तहरुको प्राज्ञिक ज्ञान आर्जन गर्नु बेग्लाबेग्लै कुरा हुन् ।’ यी दुई बीच कुनै तालमेल हुँदैन । कसैकसैले भन्दछन, ‘हेडलाइन, डेटलाइन, कटलाइन, लिडलाइन, बडीलाइन, क्रेडिटलाइन नबुझेका पत्रकार मित्रहरुलाई पत्रकारिताको लाइन थाहा हुँदैन ।’ अरुले थप्छन, ‘नेपाली पत्रकारिता भनेको पोलिटिकल लाइन हो ।‘ अझ अरुले थप्छन, ‘यो बिजनेस लाइन हो ।’

मैले बिरलै सुन्ने गरेको छु, पत्रकारिता भनेको जन्मदेखी नै समाचार प्रदान गर्ने समाजसेवाको रुपमा आएको हो र यसलाई पहिले सार्वजनिक वा निजी पक्षबाट भरथेग गरिन्थ्यो भने आज आएर विज्ञापन व्यवसायीले आमसञ्चारको माध्यमलाई विभिन्न उपभोग्य वस्तु र सेवाहरु प्रचारप्रसार गर्ने व्यवपारिक माध्यमको रुपमा प्रयोग गर्न थालेपछि समाचार सेवाको पक्ष बजार पक्षसामु झुक्नुपर्ने अवस्था पनि आएको छ । अनि यस किसिमको बिजिनेस लाइनमा फसेका पत्रकारिता गर्ने भूतपूर्व विद्यार्थी आफुहरुले संघर्ष बताउँछन् ।

हो, आजसम्म मैले त्यस्तो भूतपूर्व विद्यार्थी भेटेको छैन,जो मूलधारको सञ्चार सेवामा लगानी गरी मालिक बनेको होस् । यद्यपी यस्ता विद्यार्थीले बुझेका हुन्छन्, मिडियाको सांगठनिक स्वरुपमा व्यवस्थापन पक्ष, व्यवसायिकता पक्ष, र प्राविधिक पक्ष । र, यी विभिन्न आन्तरिक र बाह्य शक्तिहरुको तनावमा रहेका हुन्छन् ।
धेरैले भन्दछन्, ‘उद्योपति हुनु र सञ्चार विद्यापति हुनुमा आकाश पातालको फरक हुन्छ ।’ उनीहरु पुलिटजर मोडलको क्रुसेडिङ जर्नलिज्म र मर्डक मोडलको पत्रकारिताबीच के भिन्नता हुन्छ भन्ने ज्ञान पनि पाएका छन् । तर व्यवहारमा पत्रकारितालाई देश, काल, परिस्थिति अनुसार निर्माण भएका मूल्य र मान्यता चट्ट भुलेर अभ्यास गर्न नसकिने रहेछ भन्ने कुरो पनि बुझका छन् ।

दक्षिण एसिया वा एसिया वा विश्वमै महिला पत्रकारहरुको अनुपात पत्रकारिताको पेसामा सन्तोषजनक छैन भनेर पनि उनीहरुले बुझका छन् । तर हाल नेपालमा पत्रकारिता शिक्षा लिने वा आमसञ्चारका सिद्धान्त बुझ्न चाहने नेपाली महिलाको अनुपात अलि अचम्म लाग्दो किसिमबाट बढिरहेको प्रसंगमा कसैकसैले पढेका आधारमा तर्क गर्छन्, यो भनेको नेपाल मोर्डनिस्ट फेमिनिस्ट स्टडिजको सिद्धान्तबाट प्रभावित भएकोले हो । अब नेपाली महिला पितृसत्तात्मक व्यवस्थाको विरोध गर्न पत्रकारितामा लागेको लक्षण हो ।

तर पाश्चात्य मुलुकका महिला यस्तो व्यवस्थाको कारण पछि परेका हैनन् भने किन केका लागि कुनै सैद्धान्तिक आधारमा उनीहरु पनि फेमिनिस्ट मुभमेन्टमा लागको हुन् भन्ने प्रश्नको उत्तर उनीहरुले सञ्चार क्षेत्रमा अध्ययन हुने विषय फेमिनिस्ट कल्चर स्टडीको आधारमा दिने प्रयत्न गर्छन् ।

पुरुषबाट सेमान्टिक डोमिनेसन हुने हुनाले पाश्चात्य मुलुकका महिला पनि त्यसका विरोधमा उत्रेका हुन् । यो सिद्धान्त अनुसार विश्वास गरिन्छ कि सामाजिक अनतरसंवादबाट पुरुष महिला शक्तिमा सन्तुलन सिर्जना हुन्छ र लैंगिक सामाजिक सम्बन्ध तथा विचारहरुको निर्माण भाषा वा सिम्बोलिक फर्मबाट हुन्छ । यसकारण पाश्चात्य महिला पनि सिम्बोलिक संसारमा आफ्नो अनुपात बढाउन पत्रकारितामा लागेका हुन् ।

पत्रकारिता तथा आमसञ्चारको विषय स्नातक तथा स्नातकोत्तर तहसम्म ज्ञान हासिल गरी भूतपूर्व विद्यार्थीले आआफ्नो तार्किक शक्ति देखाएको देख्न पाउनु राष्ट्रकै भलाइका लागि ठूलो उपलब्धि हो भन्न हिच्किचाउनु पर्दैन । यस किसिमको उर्जा देशमा बढेर गएमा नेपाली सञ्चार जगतले विकासमा उल्लेखनीय योगदान दिने कुरा निश्चित छ ।

(यो लेख २०६९ भदौ ५ को अन्नपूर्ण पोष्टको मंगलबारे परिशिष्टांक शिक्षाबाट साभार गरिएको हो ।) (लेखक आमसञ्चार तथा पत्रकारिता, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा प्राध्यापनरत छन् ।)